द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पत्ति राेकिएकाे भए सम्पर्क गर्नुहाेस् : छानबिन आयोग

 फागुन ६, २०७६ मंगलबार १८:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बेपत्ता छानबिन आयोगले द्वन्द्वकालमा वेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गर्नुभएको हो । 

सम्पत्ति हस्तान्तरण, अंशबण्डा लगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उहाँले बताउनुभयो । ‘आयोगमा सम्पर्क गर्नुहोस् ,परिपत्र दिनुपर्ने हो कि, पत्र लेख्नुपर्ने हो वा कसैलाई भन्नुपर्ने हो हामी गर्छौँ’, उहाँले भन्नुभयो । 

आयोगले व्यक्ति हेरेर छानबिन नगर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष सुवेदीले उजुरीकर्ताले दिएको उजुरीको र छानबिनको आधारमा निर्णय हुने बताउनुभयो । ठूला माछालाई छोड्ने र सानालाई समात्ने भन्ने आशंकाहरु नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘अनुसन्धानले को ठूलो को सानो भन्छ । हामीले गरेको अनुसन्धानको नतिजा हेरेर तपाईँले मूल्याङ्कन गर्नुहोला ।’

आयोगमा २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ । आयोगमा परेका उजुरीहरु खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको आयोगले जनाएको छ । आयोगका अध्यक्ष सुवेदीले बेपत्ता भएको भनी उजुरी परेका केही व्यक्तिहरु सम्पर्कमा आएको बताउनुभयो । 

आयोगको सम्पर्कमा आएका व्यक्तिहरुको नाम केही दिनमा नै सार्वजनिक गरिने उहाँले बताउनुभयो । आयोगका अध्यक्ष सुवेदीले ऐन संशोधनको तयारी सुरु भएको बताउनुभएको छ । उहाँले पीडितको सहमतिमा क्षमादान दिन सक्ने गरी कानुनी व्यवस्था गर्न सरकारलाई १४ बुँदे सुझाव दिइएको जानकारी दिनुभयो । 

अध्यक्ष सुवेदीले भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटना लगायतको अनुसन्धान हुने पनि बताउनुभएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया