वडाध्यक्ष नै अनशनमा !

 फागुन ८, २०७६ बिहिबार १०:५१:५३ | रासस
unn.prixa.net

चितवन – माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका १ का वडाध्यक्षसहितले आमरण अनशन सुरु गरेका छन् । 

वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहित वडा सदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनसन सुरु गरेका हुन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) २०७६ फेरि संशोधन हुनुपर्ने, बाँदरझुला र अमिलियाको उचित व्यवस्था गरिनुपर्ने उनीहरुकाे माग छ । साथै मानव वन्यजन्तु द्वन्द्व निवारण गर्न वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सिमानामा पर्ने रीउ खोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् । 

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने माग राखिएकाे छ । माडी नगरपालिकालाई कृषि, पर्यटन 'हब' का रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा पालिकाकाे अधिकार हुनुपर्ने माग रहेका छन् । 

‘माडीवासी जनताको तर्फबाट आमरण अनशन’को नाम दिइएको छ । नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग माडीको समस्याको बारेमा छलफल गर्न आफू काठमाण्डाै जाने तयारीमा रहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया