रुकुम पूर्व : चार महिनादेखि बन्द खनजोत कार्य सुरु

 फागुन ११, २०७६ आइतबार ७:२८:५ | रासस
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाअन्तर्गत तकवासीले खेतबारीमा खनजोत कार्य सुरु गरेका छन् । चार महिनादेखि बन्द गाउँको खनजोत गएको बुधबारबाट सुरु भएकाे हो । त्यसका लागि आवश्यक विधि र वाचा यसअघि नै पूरा भइसकेको छ । 

पुथाउत्तरगङ्गा गाउँपालिका १० काे तकमा हरेक वर्ष मङ्सिर, पुस, माघ र फागुनमा खनजोत गर्न पाइँदैन । वडा कार्यालय, गाउँपालिका वा अरु कुनै सरकारी निकायको नियमले खनजोत गर्न बन्देज गरेकाे होइन ।

परम्परादेखि नै तकगाउँमा हरेक मङ्सिरको अन्तिमदेखि फागुनको पहिलो हप्तासम्म खनजोत गर्न नपाइने चलन चल्दै आएको हो । याे समयमा यस क्षेत्रमा हलो प्रयोग पूर्णतः बन्द रहन्छ । सकेसम्म कुटो–कोदालो पनि नचलाउने चलन छ ।

खनजोत गर्न बन्द गर्ने र फुकाउने विधि घर्तीमगर थरका एक जना व्यक्तिले मात्रै गर्छन् । उनले पूजाआजा र विधिवाचा पूरा गरेपछि सबै गाउँलेले जोत्न तथा खन्न सुरु गर्छन् । विधि वाचाका लागि गएको बुधबार राम्रो दिन मानिएकाले त्यही दिनबाट तकमा जोत्न तथा खन्न सुरु गरिएको हो । 

यस वर्ष सुर्जे घर्तीमगरले विधि वाचा गरेर हल्सार अर्थात् भूमि र हलोको पूजा गरी जोत्ने र खन्ने कार्य फुकुवा गरिदिनु पर्ने हो । तर सुर्जे देश बाहिर रहनुभएकाले उहाँका बुबाले भूमि र हलो पूजा गरेर खनजोत फुकुवा गर्नुभएको हो । गाउँका कटवालले खनजोत कार्य सुरु हुने भनेर गाउँमा हाक हालेका थिए । आइतबार भूमि पूजा भएको थियो भने आइतबारपछिको राम्रो बार बुधबार हुने भएकाले धामीले बुधबारदेखि जोत्न र खन्न सकिने गरी साइत मिलाइदिएका हुन् ।

तकगाउँमा खनजोत गर्न पनि त्यसरी नै सूचना दिएर बन्द हुन्छ । मङ्सिर मसान्तको दिन घरका छतछतमा गएर गाउँका कटवालले खनजोत कार्य बन्द भएको सूचना दिन्छन् । गाउँलेले त्यसैलाई आधिकारिक सूचना मानेर गाउँमा खनजोत बन्द गर्छन् । फेरि घर्तीमगरमध्येका एक जनाले हल्सार अर्थात् भूमि र हलोको पूजा गरेपछि उनै कटवालले त्यसबारेमा गाउँलेलाई जानकारी दिएर खनजोत गर्न लगाउने गरेको स्थानीय युवा मैत्या घर्तीमगरले बताउनुभयो । 

हरेक वर्ष घर्तीमगरका छोराहरूको पालैपालो हल्सार गर्ने जिम्मेवारी आउने गरेको उहाँले बताउनुभयो । त्यस क्षेत्रमा व्यापक हिउँ पर्ने भएकाले त्यस समयमा खनजोत गर्न हुन्न भनेर चलन चलाएको बताइन्छ । त्यो समयमा खनजोत गर्दा भूमिको श्राप लाग्ने जनविश्वास छ । तकमा अहिले २६ घरधुरी रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया