'प्रधानमन्त्रीप्रति आस्था गर्ने ठाउँ पाइएन, अडियो प्रकरणमा संसदीय छानबिन हुनुपर्छ'

 फागुन ११, २०७६ आइतबार ८:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमा टिप्पणी गर्नुभएको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले कमिसन मागेको अडियो बाहिरिएपछि लोहनीले ‘सरकारको चरित्र के हो ?’ भन्ने कुरा प्रष्ट भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास भयो, त्यो बाहिर आयो, त्यसले गर्दा यो सरकारको चरित्र के हो ? यस्तो सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न नेपाली जनतामाझ चड्कारो रुपमा आएको छ ।’

लोहनीले कमिसनको अडियो प्रकरणभन्दा अघि पनि यती काण्ड, सुन काण्ड, एनसेल काण्ड, न्यारोबडी काण्ड, वाइडबडी काण्ड भएको पनि स्मरण गराउनुभयो । उहाँले ती सबै काण्ड नेपाली मिडियाले बाहिर निकालेको तर सरकार त्यसलाई ‘लजिकल कन्क्लुजन’ मा लैजाने कुरामा तयार नदेखिएको बताउनुभयो । ‘संसदमा प्रतिपक्ष छ तर प्रतिपक्ष पनि धेरै भलादमी भएको छ । उहाँहरु जे भए पनि नमस्कार नै गरेर बस्ने स्थितिमा पुग्नुभएको छ ।’ 

नेता लोहनीले बाँस्कोटाको ७० करोड कमिसनको टेप प्रकरण सुन्दा ‘अझै एक अर्ब बढाइदेउन’ भनेर सुनिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक अर्ब भनेको त केही पनि होइन, नेपालीहरुको आर्थिक अवस्था कस्तो छ ? त्यसको कुनै मतलब छैन । एक अर्ब बढाइदेउ अथवा अहिले हेर्दा त ३७ २८ अर्बको पनि कुरा आयो ।’ 

हिजोको सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो अहिले प्रजातन्त्रको वैधानिकता लिएर शोषण गरिएको टिप्पणी गुर्नभयो । उहाँले थप्नुभयोे, ‘अहिले त नेपालमा नवसामन्तवादको नयाँ अध्याय नै सुरु भएको छ । यसमा प्रश्न के छ भने बाँस्कोटा मात्रै हो कि या त्यो भन्दामाथि पनि अरु कोही थिए ? किनभने एउटा खबर के आएको छ भने जसले यो कुरा पर्दाफास गरे, मिश्र भन्ने व्यक्तिले यो टेप लगेर प्रधानमन्त्रीज्यूलाई नै दिएका थिए, त्यो पनि दुई महिना आगडि । त्यो टेप सुनिसकेपछि त्यही व्यक्तिलाई नेपालको सबभन्दा सशक्त राजनीतिज्ञ भनेर प्रशंसा गर्नु र अहिले यो भ्रष्टाचारको कुरा बाहिर आउनुबाट प्रधानमन्त्रीलाई यसमा कति थाहा थियो या थिएन ? भन्ने कुरा अब ठूलो प्रश्नको रुपमा आएको छ ।’

उहाँले यो प्रकरणमा अब हुने छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोल्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँले कति थाहा पाउनुभएको थियो ? रोक्नको लागि के गर्नुभयो ? के गर्नुभएन ? यो कुरा नेपाली जनताले थाहा पाउनुपर्छ । किनभने आफ्नो प्रधानमन्त्रीको नैतिकता र चरित्रको बारेमा जनता आश्वासन हुन चाहन्छन् । प्रधानमन्त्री भनेको त संस्था हो, त्यो संस्थामा पनि तपाईँले आस्था गर्न सक्नुभएन भने त्यो बेलामा देशमा अशान्ति र अराजकता बढेर जान्छ ।’

अध्यक्ष लोहनीले यो प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै संसदीय समितिबाट छानबिन हुनुपर्ने आफूहरुको सुझाव रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया