काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काेराेना – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् नोबेल कोरोना भाइरसकाे सङ्क्रमणकाे सम्भावित 'महामारी' विरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहन डब्लूएचओले आग्रह गरेको हो । तर डब्लूएचओले अहिले नै कोरोनाको सङ्क्रमणलाई विश्वव्यापी महामारी भन्न नमिल्ने बताएको बीबीसीले जनाएको छ ।
विश्वका धेरै क्षेत्रमा सङ्क्रमण सहज रुपमा एक व्यक्तिबाट अर्कोमा सर्न थालेपछिको अवस्थालाई विश्वव्यापी महामारी भन्ने गरिन्छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण चीनसहितका देशमा दुई हजार ६ सय ९८ जनाको ज्यान गइसकेको छ भने ८० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएकाे पुष्टि भएको छ ।
यस्तै कोरोनाका कारण चीनबाहिर ३० देशमा २० जनाको ज्यान गएको छ । एक हजार दुई सय जनाभन्दा धेरैमा सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोनाका कारण सबैभन्दा धेरै दक्षिण कोरियामा आठ जनाको ज्यान गएको छ भने आठ सय ३० जनामा कोरोना भएको पुष्टि भएको छ ।
यस्तै इटलीमा सात जनाको ज्यान गएको छ भने दुई सय २९ जनामा सङ्क्रमण भएको पाइएको छ ।
साेमबार इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा पनि कोरोना सङ्क्रमित भेटिएपछि डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमणकाे सम्भावित महामारीविरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको हो ।
रुघाखोकीसँगै उच्च ज्वरो आउनु र श्वास फेर्न गाह्राे हुनु कोरोना भाइरसको लक्षण हो । बारम्बार साबुनपानीले हात धुने, सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नबस्ने, आँखा, नाक र मुख छोइसकेपछि हात धोइहाल्ने गरेमा कोरोना सङ्क्रमण फैलन कम हुने डब्लूएचओको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।