करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सीटीईभीटीकाे काम हाे ? : शिक्षा मन्त्री पाेखरेल

 फागुन १३, २०७६ मंगलबार १२:३०:२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ ।

सीटीईभीटीकाे ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उहाँले सीटीईभीटीकाे कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सीटीईभीटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताउनुभएको हो । 

नामअनुसारले सीटीईभीटीले काम गर्न नसकेको भन्दै उहाँले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सीटीईभीटीकाे काम हाे ? भनि प्रश्नसमेत गर्नुभयो । सीटीईभीटीका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले भन्नुभयो, 'सीटीईभीटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सीटीईभीटी जागिर खाने थलो मात्रै हो ?' 

सीटीईभीटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उहाँको भनाइ थियो । उहाँले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सीटीईभीटीले गुणस्तरीय र आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्न नसकेको बताउनुभयो ।

सीटीईभीटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्‍यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भन्नुभयो, 'जहिले पनि सीटीईभीटीलाई मन्त्रालयले हस्तक्षेप गर्‍यो भन्ने ? तपाईँहरु भन्न सक्नुहुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।'

सीटीईभीटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भन्नुभयो, 'तपाईँले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नुभयो ? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन ।'

सीटीईभीटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिनुभयो । कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया