सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : डा. भट्टराई

 फागुन १४, २०७६ बुधबार १७:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको हो । ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म लगायत हामी सबै हिजो त हामी त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गर्नुभएको छ ।

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरोभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा मेरो गोरखामा रहेकाे घर त्योभन्दा राम्रो छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाण्डौमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’ अहिले देखिएको दृश्य कमाइले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने दावी गर्दै उहाँले भन्नुभयो, ‘म अलिकति गणितमा चासो राख्ने मान्छे पनि हुँ । अर्थमन्त्री पनि भइटोपलेको मान्छे । मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाइले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाइले यहाँ काठमाण्डौमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ । त्यसका लागि म सबैसँग आग्रह गर्न चाहन्छु ।’

उहाँले मातातीर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृत्ति देखाउन खोजिएको आरोप समेत लगाउनुभएको छ । मातातीर्थ लगायतको जग्गाका सन्र्दभमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानुनी र नैतिक रुपमा ठिक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीले प्रतिशाेध, असहिष्णुता वा निषेध गर्ने के प्रवृत्तिले यस्तो गर्न खोजिएको हो भन्दै आशंका व्यक्त गर्नुभयो ।

दुई तिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था नरहेको भन्दै भट्टराईले ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन’, भन्नुभयो । डा. भट्टराईले लोकमानले झै तर्साएर झुकाउने प्रधानमन्त्रीले सोच्नुभएको भए २०५१ सालको प्रसंग सम्झिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जतिबेला २०५१ सालमा जनयुद्धको तयारी गर्दै थियौँ । त्यतिबेला चर्चित भित्तेकाण्ड भएको थियो ।

त्यतिबेला सिंहदरबार अगाडि म लगायत साथीहरु उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) गृहमन्त्री हुनुहुन्थ्यो । उहाँलाई ज्ञापन पत्र बुझाउन जाँदा उहाँको अरिंगाल सेनाले मलाई आएर खुकुरीले हानेको प्रसंग अहिले पनि याद छ । त्यसैले उहाँले लोकमानले झै तर्साएर झुकाउँछु भन्ने ठानेको हो भने त्यो प्रसंग सम्झिँदा राम्रो होला । त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के थियो त्यो सम्झँदा ठिकै होला । यो समय आरोप प्रत्यारोपको विषय होइन ।’

भट्टराईले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गएका छन भन्दै प्रश्न पनि गुर्नभयो । ‘अब यति होल्डिङप्रति नै विशेष अनुराग भएर उसलाई अझै नपुगेको हो अझै दिनुपर्ने हो ? मोहीहरुले बरु नपाए नपाउन भन्ने चाहाना हो भने यो पनि गम्भीर विषय हो छलफल गरुन । यो त दृष्टिकोणको कुरा भयो ।

जनताको जमिन खोसेर आफ्नो आसेपासेलाई दिने की जोताहा मोहीलाई दिने हो भन्ने गम्भीर छलफल विषय बन्छ’, भट्टराईले भन्नुभयो । देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराइले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषिलाई दण्डित गर्ने प्रवृत्ति अंगाल्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया