दिल्लीकाे हिंसाग्रस्त इलाकामा सुरक्षाबलकाे मार्चपास

 फागुन १५, २०७६ बिहिबार ६:५८:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे दिल्लीको हिंसाग्रस्त इलाकामा सुरक्षाबलले मार्चपास गरेका छन् ।

नागरिकता संशोधन कानुनविरुद्ध भइरहेकोे आन्दोलनले हिंसाको रुप लिएको उत्तर पूर्वी इलाकामा सुरक्षाबलले गरेको मार्चपासमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मार्चपासमा केजरीवालसँगै उपमुख्यमन्त्री मनीष सिसोदिया पनि थिए । 

दिल्ली उच्च अदालतले बुधबार पीडित परिवारसम्म पुग्न सरकार र प्रशासनलाई निर्देशन दिएको थियो ।

उत्तर पूर्वी दिल्लीमा तीन दिनेदेखि भइरहेको हिंसापछि काङ्ग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बुधबार गृह मन्त्रीको राजीनामा मागेकी छिन् । 

पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै सोनिया गान्धीले भनिन्, ‘सबै स्थितिलाई मध्यनजर गर्दै काङ्ग्रेस कार्यसमितिले हिंसाको पछाडि केन्द्र सरकार र खासगरी गृह मन्त्री जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।’

दिल्लीका मुख्यमन्त्री र दिल्ली सरकार शान्ति र सद्भाव बनाइराख्न असफल रहेको भन्दै सोनियाले गृह मन्त्रीको राजीनामा माग गरेकी हुन् । 

यसैबीच दिल्ली प्रहरीले भइरहेको हिंसाविरुद्ध १८ वटा मुद्दा दर्ता गरेको छ । यस्तै एक सय ६ जनालाई पक्राउ गरेको समाचार संस्था पीटीआईले जनाएको छ । गएको सोमबारदेखि सुरु भएको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया