पार्टीलाई विघटनको दिशामा जान दिइन्न : वरिष्ठ नेता नेपाल

 फागुन १५, २०७६ बिहिबार २०:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताउनुभएको छ । 

नेकपा वाग्मती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रष्ट हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पत्रपत्रिकामा पढेर तपाइँहरुको दिमाग खराब भएको छ । कतै यो पार्टी भताभुङ्ग हुने त होइन । कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिशामा जाने त होइन ? यस्ता प्रश्नहरु पनि नउठने गरेका होइनन् । उठ्छन र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ । ’ 

उहाँले यो आन्दोलनलाई विसर्जनको दिशामा जान र पार्टीलाई विघटनको दिशामा जान नदिने बताउनुभयो । ७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टीभित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टीभित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

उहाँले ऐतिहासिक कोसेढुङ्गाको रुपमा दुई पार्टीलाई एकताबद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको बताउनुभयो । एकीकरण भएको झण्डै दुई वर्ष भइसक्दा समेत एकताका केही कामहरु टुङ्ग्याउन नसकेको भए पनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको बताउनुभयो । 

उहाँले एकीकरणको काममा विलम्ब भएकोले छिटोभन्दा छिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभूति हुने बताउनुभयो । उहाँले संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत बताउनुभयो । 

उहाँले देशमा कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योग्यता प्रदर्शन गर्न सक्नुपर्ने र एक्लो छौं, दुई तिहाई छौं भनेर दम्भको शिकार बन्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया