सिंगटी - लामोसाँघु प्रसारण लाइन निर्माणमा स्थानीयकाे अवरोध

लाइन अभावमा विद्युत खेर जान दिँदैनौं : कार्यकारी निर्देशक कुलमान घिसिङ

 फागुन १६, २०७६ शुक्रबार १६:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिंगटी-लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीय बासिन्दाले निर्माणमा अवरोध गरेका छन् । 

आयोजनाले स्थानीयको अवरोधका कारण दोलखाको भीमेश्वर नगरपालिका-८ को बोझ र ९ को झिङ्गानेमा निर्माण गरिरहेकाे ५ वटा टावरको काम सम्पन्न गर्न सकेको छैन । 

तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा व्यवसाय प्रभावित हुने भन्दै बोझमा एउटा टावर खडा गर्न दिएको छैन । प्रसारण लाइनको रुट सार्नुपर्ने र त्यसो गर्न नसकिएमा मुआब्जा तथा क्षतिपूर्ति रकम बढाउनु पर्ने माग गर्दै स्थानीयले झिंगानेमा ४ वटा टावर निर्माण गर्न दिएका छैनन् । 

स्थानीय सन्तोष तामाङले आफ्नो जग्गामा टावर निर्माण गर्न नदिएपछि निर्माण प्रभावित भएको हो। अन्य प्रभावितले पहिले तामाङको जग्गामा निर्माण गरेपछि मात्रै आफ्नो जग्गामा निर्माण गर्न दिने अडान राखेका छन् । 

४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये ११७ वटाको जग हालिएको छ । १०७ वटा टावर खडा गरिएको छ । ३२ किलोमिटर सिंगल सर्किट तार टांगिएको छ । प्रसारण लाइनको निर्माण आगामी वैशाखभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

दोलखाका सिंगटी खोला र तामाकोशी नदी बेसिनमा निजी क्षेत्रका निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा प्रवाह गर्न सिंगटी–लामोसाँघु प्रसारण लाइनको निर्माण भइरहेको हो ।

नेपाल विद्युत प्राधिकरणले जारी अवरोध हटाउन गरेको प्रयास सफल हुन सकिरहेको छैन । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण प्रगतिको जानकारी लिन केही दिनअघि  दोलखा पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हटाउन छलफल गर्नुभएको छ । 

कार्यकारी निर्देशक घिसिङले दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई भेटेर आयोजना निर्माणमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गर्नुभयो । 

‘यही लाइनमा जाेडिने २५ मेगावाटको सिंगटी खोला र अन्य केही आयोजनाहरुको निर्माण अन्तिम चरणमा पुगेको छ, तत्काल लाइन बनाउन सकेनौँ भने पेनाल्टी बापत ठूलो रकम तिर्नु पर्ने छ, यस्तो महत्वपूर्ण र संवेदनशील आयोजनाको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न सहजीकरण गरिदिनु पर्यो ’ उहाँले भन्नुभयाे । 

विकास निर्माणमा स्थानीयबाट भइरहेकाे अवरोध हटाउनका लागि गृह मन्त्रालयले स्पष्टसँग निर्देशन दिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन आफूले सक्रियताका साथ पहल गर्ने बताउनुभयो । 

‘अवरोध गर्नेसँग आवश्यक छलफल गर्छौं, त्यसबाट सहमतिमा पुग्न सकिएन भने यस्तो राष्ट्रिय महत्वको प्रसारण लाइनको निर्माण सम्पन्न गर्न प्रशासन कानुनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्छ’,उहाँले भन्नुभयो ।  

यो प्रसारण लाइनमा निर्माणको अन्तिम चरणमा पुगेको २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । कार्यकारी निर्देशक घिसिङले प्रवर्द्दक कम्पनीले आयोजनाको निर्माण चैतभित्र सम्पन्न हुने बताए पनि साइटको कार्य प्रगति हेर्दा त्यस्तो नदेखिएको बताउनुभयो । उहाँले प्रसारण लाइन अभावमा आयोजनाबाट उत्पादित विद्युत् खेर जान नदिने प्रतिवद्धता जनाउनुभयो । 

आयोजनाको प्रवर्द्दक सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको कोरोना भाइरसले मेसिन जडानका लागि चिनियाँ प्राविधिक आउन नसक्दा काम प्रभावित भएकाले निर्माण सम्पन्न हुने समय केही ढिला हुने देखिएको बताउनुभयो ।  

प्रसारण लाइनको निर्माण आर्थिक वर्ष २०६५/६६मा सुरु गरिएको थियो। निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गरेको थियो । 

त्यसपछि कम्पनीको आधिकारिक नेपाल प्रतिनिधिलाई निर्माणकाे जिम्मा दिइएको थियो । अहिले भइरहेको अवरोध हटेर ठेकेदारले कामको गति बढाएमा आउँदाे वैशाखभित्रमा लाइन र सव-स्टेसनको निर्माण सकिने आयोजना प्रमुख राजन ढुंगेलले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया