भक्तपुर क्वारेन्टाइनमा रहेकालाई सत्रौँ दिनमा घर फर्काइने

 फागुन १६, २०७६ शुक्रबार २०:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औँ दिनमा घर फर्काइने भएको छ । 

खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले आज १३ दिन सफल रुपमा पार गर्नुभएको छ ।

यसअघि ४ गते नै उहाँहरुको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार सुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान ८ बजे र त्यसपछि त्यही टोलीले ११ बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरिने मन्त्रालयले जनाएको छ । 

सुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका क्याप्टेन डा नवीन फुयाँलले जानकारी दिनुभयो ।

यहाँ स्वास्थ्य परामर्श पनि भइरहेको र कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको जानकारी दिँदै उहाँले शनिबार सङ्कलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो । 

शनिबार सङ्कलन गरिने र्‍याल नमूना परीक्षणको रिपोर्ट १७ गतेसम्म आउने र ढिलोमा १८ गतेसम्ममा उहाँहरुलाई घर फर्काइने भएको छ । अहिले पनि धेरै जनाको रिपोर्ट आउनुपर्ने भएकाले कम्तीमा पनि रिपोर्ट आउन तीन दिन लाग्ने जानकारी दिँदै डा फुयाँलले सबैको नेगेटिभ रिपोर्ट आएपछि सरकारको निर्देशन तयारीअनुसार घर फर्काइने जानकारी दिनुभयो ।  

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण हुने उहाँको भनाइ छ ।

 क्वारेन्टाइनमा रहेकाहरु सबैको यहाँ खटिएका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले दैनिक स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् भने नेपाली सेनाको वीरदल गणको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको कन्ट्रोल रुमबाट सीसी क्यामराको माध्यमबाट पनि उहाँहरुको निगरानी गर्नाका साथै आवश्यकताअनुसार माग गरेका सामान पुर्‍याइदिने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया