चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - सिंहदरबारको मूलद्वार अगाडिका चिल्ला सडकमा गाडी हुइँकिँदै थिए । सवारी पातलो भए पनि सदाझैँ सडकपेटीमा बटुवाको आवतजावत बाक्लै थियो । त्यही भीडमा घाँसको भारी बोकेका दुई महिला सिंहदरबारको मूलगेट हुँदै रामशाहपथबाट गन्तव्य सोझ्याइरहेका थिए ।
घाँसले अनुहार छोपिएको थियो । सबै आ-आफ्नै गन्तव्यको हतारोले होला घाँसको भारी बोकेको देख्नेमा चासो थिएन । शनिबार मार्च ८ अर्थात ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईँदै थियो । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखमा विश्वभर महिला श्रमिक दिवस मनाइन्छ ।
ठूलो श्रमका साथबीच सडकमा घाँसको भारी बोक्दै हिँडेका महिलाको गन्तव्य थाहा पाउन मन लाग्यो । भद्रकालीबाट ‘यु टर्न’ हानेर फर्किंदा महिला महानगरीय ट्राफिक प्रहरी महाशाखाको मूलद्वार कटिसकेका थिए । पद्मोदयमोड पुग्दा केही तस्बिर कैद भयो । उहाँहरुको गन्तव्य भृकुटीमण्डपतर्फ मोडियो । अलि अगाडि बढेका ती पाइला फेरि टुकुचाको खसी बजार मोडियो ।
बजारमा सयौँ खसी, बोका र भेडा थिए । क्रेता विक्रेताबीच मोलतोल चल्दै थियो । कोही खसी डोर्याउँदै त कोही गफिँदै थिए । दुई महिलाले ल्याएको घाँस देखेपछि व्यापारी एकै ठाउँमा सोहोरिए । ‘दिदी मलाई एक मुुठा घाँस’, एउटाले भन्यो ।
‘मलाई पनि एक मुठा है’,अर्को स्टलबाट आवाज आयो । घाँसको अभाव भएको व्यापारीको भीडमा भारी बिसाउन नपाउँदै घाँस हारालुछ भयो । भोकाएका जनावरले खानेकुरा खोसेझैँ व्यापारीले तछाडमछाड गरे । एक मिनेटमै घाँस सकियो । व्यापारीले आ-आफ्नो खोरमा रहेका खसी बोकालाई घाँस हाले ।
घाँस ल्याउने जिम्मा त्यही दुई महिलाको हो । व्यापारीले महिलालाई ‘घाँसे दिदी’ भन्दा रहेछन् । टुकुचामा बिहान तीन महिलाले दैनिक आठ भारी स्याउला गाडीमा ल्याउँछन् । प्रतिभारी स्याउलाको ५०० कमाइ हुन्छ ।
हरेक दिन बिहान आउने । घाँस काट्ने बेचेको पैसा लिएर गुजारा चलाउने उहाँहरुको दैनिकी हो । उहाँहरुलाई न श्रमिक महिला दिवस भन्ने थाहा छ, न देशको को दैनिक अवस्था र गतिविधि नै । भोलि कुन ठाउँमा पुगेर एक भारी घाँस बनाउन सकिन्छ भन्ने चिन्ता मात्रै छ महिलालाई ।
उहाँहरुले प्रतिमुठा घाँसको २० पाउनुहुन्छ । दैनिक औसत गर्दा छ/सात सयदेखि हजारसम्म कमाइ हुने गरेको महिलाको भनाइ थियो । राम्रो घाँस पाउँदा घाँसे दिदीले एक दिनमा दुई हजारसम्म कमाइ गर्ने गरेको खसी व्यापारी सुनाउँछन् । घाँस ल्याउँदा टुकुचा बजारमा उहाँहरु ठूलै ‘सेलिब्रेटी’ बन्नुहुुन्छ । भारी बिसाएर घाँस बिक्री हुन नपाउँदै फेरि अर्को भारी घाँस काट्न जानुपर्ने बाध्यता उहाँहरुमा छ ।
अर्को भारी घाँस लिन जान थालेपछि कुरा गर्ने प्रयास थालेँ । उहाँको नाम मैयाँँ बोगटी । भक्तपुरको दुवाकोट घर । सोही ठाउँ बस्ने साथीको नाम विमला बोगटी । उहाँ घाँस लिन सुन्धारा, बानेश्वर, विभिन्न सरकारी अफिसको खाली जमीन चहार्नुपर्छ । कहिलेकाहीँ दुई भारी पारे पनि धेरैजसो एक भारी घाँस मात्रै आउँछ ।
उहाँहरु बिहान ९ बजे घरबाट हिँड्नुहुन्छ । कहिले दिउँसै घर पुगिन्छ । कहिले ४/५ बज्छ । उहाँले थप्नुभयो, 'घाँस पायो भने छ/सात सय कमाइ हुन्छ, कहिले त त्यही पनि हुन्न, कहिले यी यसरी हारालुछ हुन्छ ।'
मैयाँ कहिले ३०/३५ मुठा, त कहिले ५० मुठासम्म बिक्ने गरेको बताउनुभयो । मैयाँ यति कुरा गरेपछि विमलाको साथमा हँसिया र नाम्लो बोकेर फेरि घाँसको खोजीमा निस्कनुभयो । मैयाँँले राजनीति र महिला दिवसको विषयमा चासो नभएको बताउनुभयो । विमलाले भने कुरा गर्न मान्नुभएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।