मेलम्ची खानेपानी आयोजनामा अलपत्र परेका निर्माण सामग्री खेर गयो

 फागुन २६, २०७६ सोमबार १५:२:० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सीएमसीले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो । 

निर्माण कम्पनीले काम गर्न छाडेर जाँदा निर्माणस्थलमा गिट्टी, बालुवा, डण्डीलगायतका निर्माण सामग्री थिए । तीमध्ये गिट्टी र बालुवा प्रयोगमा आए पनि अरु प्रयोगमा ल्याउने अवस्था नरहेको आयोजनाले जनाएको छ । लामो समयसम्म खुला राखिएकाले ठूलो परिमाणमा सिमेन्ट प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको वरिष्ठ डिभिजनल इञ्जिनियर कमलराज श्रेष्ठले बताउनुभयो । 

झण्डै ७० लाख रुपैयाँ बराबरको सिमेन्ट बिग्रिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म निर्माणस्थलमै रहेको सिमेन्टलाई व्यवस्थापन गरिनेछ ।’ यहाँ रहेका फलामका डण्डीमा खिया लागेको छ । यहाँ रहेका डण्डी, सिमेन्ट पूरै काम नलाग्ने अवस्थामा पुगिसकेको छैन । विभिन्न किसिमका अस्थायी संरचनामा मात्रै डण्डी प्रयोग गर्न सकिने वरिष्ठ डिभिजनल इञ्जिनियर श्रेष्ठले बताउनुभयो ।

निर्माणस्थलमा अहिले झण्डै ९० लाख रुपैयाँ बराबरको डण्डी रहेको छ । उहाँले भन्नुभयो, ‘डण्डी एक डेढ वर्षसम्म उसै रहेकाले खिया लागिसकेको छ ।’ यहाँ रहेको बालुवा र गिट्टी भने प्रयोगमा आइरहेको छ । आयोजनाले अहिले निर्माण गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बिक्री गरिरहेको छ । त्यहाँबाट आएको रकम सम्बन्धित आपूर्तिकर्तालाई नै दिइएको वरिष्ठ डिभिजनल इञ्जिनियर श्रेष्ठले बताउनुभयो । निर्माणस्थलमा एक हजार गाडी बालुवा र गिट्टी रहेको पाइएको छ । 

एकातिर यहाँ रहेका निर्माण सामग्री खेर गएका छन् भने अर्कातिर सरकारले यी निर्माण सामग्री खरिदबापत सीएमसीले दिन बाँकी रहेको भुक्तानी दिन बाँकी छ । खानेपानी मन्त्रालयका सहसचिवको संयोजकत्वमा रकम भुक्तानीका लागि आवश्यक तयारी गर्न प्राविधिक समिति बनाइएको छ । आयोजनामा काम गरेका कामदारलाई ज्यालाबापत दिनुपर्ने रकम दिइसकिएको छ भने सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी बाँकी छ ।   

सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा समितिले आवश्यक अध्ययन गरिरहेको छ । मजदुरलाई ज्यालाबापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ या छैन भनी जाँच भइरहेको छ । सीएमसीले आयोजना अलपत्र छाडेर गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताउनुभयो । 

लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा पर्ने यो आयोजनामा रहेका समस्या हल गर्दै असारसम्ममा मेलम्चीको पानी काठमाण्डौ झार्ने गरी तयारी भइरहेको छ । मन्त्रालयले असारभित्रमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी श्वेतपत्र जारी गरेको थियो । खानेपानी मन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गर्नुभएको थियो । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गएको असोजमा सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । कम्पनीसँग गएको असोज १२ मा सुरुङ निर्माणका लागि र असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो । 

मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाका १४ गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ । पानी प्रशोधनका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण गरिएकामा दुवै सम्पन्न भइसकेका छन् । यीमध्ये एउटा एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा र अर्को जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा निर्माण भएको हो । 

काठमाण्डौ उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाण्डौ ल्याउन संस्थागत पहल सुरु भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्था यसमा काम गरेर गए । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो ।

पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । पाँच महिनाको अन्योलपछि गएको असोजमा नयाँ कम्पनी काममा लागेको हो । अहिलेसम्म निर्माणका काममा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया