कच्चा तेलकाे मूल्य घट्दा शेयर बजार ओरालाे लाग्याे

 फागुन २६, २०७६ सोमबार १५:२४:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट आएको छ । शेयर बजार ओरालो लाग्नुमा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्कलाई मानिएको छ । 

जापानको निक्केई सूचकाङ्क पाँच प्रतिशतसम्म घटेको छ भने अस्ट्रेलियाको एएसएक्स सात दशमलव तीन प्रतिशतसम्म घटेको हो । यो वर्ष सन् २००८ पछि यी बजारमा सबैभन्दा ठूलो गिरावट आएको हो । 

यसको असर भारतीय बजारमा पनि देखियो । 

भारतीय सूचकाङ्क सेन्सेक्समा पनि सोमबार सुरुवाती केही घण्टामा १६ सय अङ्कसम्म गिरावट आयो । जबकि निफ्टीमा ४५३ अङ्कको गिरावट देखियो । 

तर दिउँसो एक बजेसम्म भारतीय बजारमा दुई हजारभन्दा धेरै अङ्कको गिरावट आयो र निफ्टीमा ५४७ अङ्कको गिरावट आयो । 

तेल उत्पादक देशको समूह ओपेक र रुसबीच कच्चा तेललाई लिएर प्रतिद्वन्द्वीको जस्तै प्रतिस्पर्धा सुरु हुने डरले शेयर बजारमा असर देखिएको हो । 

साथै चीनबाट हुने निर्यात ठप्प हुनु र जापानी अर्थव्यवस्था साँघुरिनुकाे असर एसियाका लगानीकर्ताहरुमा देखिएको हो । 

सोमबार कच्चा तेलको मूल्यमा ३० प्रतिशतसम्म गिरावट देखियो । यो सन् १९९१ मा भएको खाडी युद्धपछि कच्चा तेलको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

यसको असर ऊर्जा कम्पनीको शेयरको मूल्यमा पनि परेको छ । 

अस्ट्रेलियामा पञ्जीकृत तेल कम्पनी आयल सर्चको शेयर ३१ प्रतिशतसम्म गिरावट आएको छ भने ऊर्जा फर्म सान्तोसको शेयरमा २७ प्रतिशतले गिरावट आएको छ । 

चीनबाट फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वभरि देखिएपछि तेलको मागमा कमी आएको छ । कोरोना भाइरसको सबैभन्दा ठूलो असर ट्राभल एजेन्सी कम्पनीमा परेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया