माल्दिभ्स र बङ्गलादेशमा पनि कोरोनाकाे सङ्क्रमण, चीनमा नयाँ सङ्क्रमितकाे सङ्ख्या घट्दाे

 फागुन २६, २०७६ सोमबार १८:४५:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण माल्दिभ्स र बङ्गलादेशमा पनि देखिएको छ ।

माल्दिभ्समा चार जनामा र बङ्गलादेशमा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहरमा भने नयाँ सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । तर अन्य देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको खबरमा बताइएकाे छ । चीनमा ४४ जना मात्र नयाँ सङ्क्रमित थपिएकाे चीन सरकारले जनाएको छ ।

चीनमा कोरोना भाइरसका कारण तीन हजार एक सय २० जनाको ज्यान गएको छ भने ५८ हजार सात सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यस्तै चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण बढेको छ । त्यहाँ अहिलेसम्म सात हजार चार सय ७८ जना सङ्क्रमित भएकाे र त्यसमध्ये एक सय ६६ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा ५३ जनाको ज्यान गएको छ भने एक सय ६५ जना नयाँ बिरामी भेटिएका छन् । यस्तै इटलीमा तीन सय ६६ जनाको ज्यान गएको छ भने ६ सय २२ जना उपचारपछि घर फर्किएका छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया