कोरोनाको सङ्क्रमण बढेपछि इटालीमा देशव्यापी नाका बन्द, विश्वभरि ४ हजार बढीकाे ज्यान गयाे

 फागुन २७, २०७६ मंगलबार ६:१७:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ (काेराेना भाइरस) को सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि इटलीमा देशभरिका नाका बन्द गरिएको छ । सङ्क्रमणको दर उच्च बनेपछि इटलीको सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपत्कालिन अवस्थाबाहेक कोही पनि घरबाट बाहिर ननिस्कन र समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको सङ्क्रमण रोक्न सरकार लागिपरेको बताएका छन् ।

इटलीमा गएको २४ घण्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ६३ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या ९ हजार एक सय ७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ ।

चीनको वुहानबाट सुरु भएर एक सय १३ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । तीमध्ये ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

चीनमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अहिले अन्य देशमा सङ्क्रमण फैलने क्रम बढेको छ । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, जर्मनी, बेलायत, जापानलगायतका देशमा सङ्क्रमण फैलने क्रम बढिरहेको बीबीसीले जनाएको छ । 

यसैबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै इटलीका सबै खेलकुद गतिविधि स्थगित गरिएको छ । 

प्रधानमन्त्री ज्युसेप कोन्टेले आउँदाे अप्रिल ३ गतेसम्मका खेलकुद गतिविधि स्थगित गरेको घोषणा गरे । भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएमा समय लम्बिन सक्ने बताइएको छ । 

इटालीका सबै खेलकुद गतिविधिहरु स्थगित गरिए पनि क्लबले र देशले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भने नियमित समयमै सञ्चालन हुनेछ । प्रधानमन्त्री कोन्टेले इटलीमा सभा सम्मेलनमा पनि प्रतिबन्धको घोषणा गरेका छन् । 

यसअघि इटलीको ओलम्पिक कमिटीले सबै खेलकुद कार्यक्रमहरु स्थगित गर्न सुझाव दिएको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया