मध्य प्रदेश सङ्कट : सिन्धियाले दिए काङ्ग्रेसबाट राजीनामा

 फागुन २७, २०७६ मंगलबार १३:३८:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको राज्य मध्य प्रदेशमा जारी राजनीतिक सङ्कटका बीच काङ्ग्रेससँग असन्तुष्ट पार्टी महासचिव ज्योतिरादित्य सिन्धियाले काङ्ग्रेस पार्टीबाट राजीनामा दिएका छन् । 

ज्योतिरादित्य सिन्धियापछि मध्य प्रदेशमा उनी समर्थक १४ विधायकले राज्यका राज्यपाललाई आफ्नाे राजीनामा पठाएका छन् । 

केही समयअघि उनले आफ्नो राजीनामा ट्वीट गरेका छन् । ज्योतिरादित्य सिन्धियाले काङ्ग्रेस अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई राजीनामा बुझाएका हुन् ।राजीनामा पत्रमा ९ मार्च तारिख लेखिएको छ, उनले सोमबार नै राजीनामा पत्र तयार गरेको बुझ्न सकिन्छ । 

आफ्नाे राजीनामामा सिन्धियाले एक वर्षअघि देखि नै काङ्ग्रेसकाे प्राथमिक सदस्यताबाट राजीनामा दिने तयारी गरिरहेकाे बताएका छन् । 

उनले राजीनामा लेखेका छन्, 'मेराे जीवनकाे उद्देश्य सुरुदेखि नै आप्नाे राज्य र देशका नागरिकहरुकाे सेवा गर्नु हाे । अब म याे पार्टी (काङ्ग्रेस) मा रहेर आफ्नाे काम गर्न सक्छु जस्ताे लाग्दैन ।'

आफ्ना व्यक्ति र कार्यकर्ताहरुकाे आकाङ्क्षा पूरा गर्नका लागि याे नै सही माैका भएकाे र अब नयाँ ढङ्गले अघि बढ्न लागेकाे उनले बताए । 

काङ्ग्रस पार्टीले भने ज्याेतिरादित्य सिन्धियालाई पार्टीबाट निकालेकाे बताएकाे छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार पार्टीका नेता केसी वेणुगाेपालले एक विज्ञप्ति निकाल्दै पार्टी विराेधी गतिविधिका कारण ज्याेतिरादित्य सिन्धियालाई तत्काल निष्कासन गर्न पार्टी अध्यक्ष साेनिया गान्धीले मञ्जुरी दिएकी छिन् । 

यसअघि उनले सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । उनीसँगै केन्द्रीय गृह मन्त्री अमित शाह पनि थिए । 

भेटमा के कुराकानी भयो भन्ने बारेमा बताइएको छैन तर ज्योतिरादित्यको यो कदमबाट उनलाई काङ्ग्रेसले फकाउन गरेको कोसिस व्यर्थ भएको बुझ्न सकिन्छ । 
यस्तो अवस्थामा मध्य प्रदेशको कमलनाथ सरकारको सङ्कट झन् बढेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा काङ्ग्रेसको आपत्कालिन बैठक चलिरहेको छ ।

मध्य प्रदेशका राज्यपाल लालजी टण्डन आफ्नो छुट्टी सकेर राजधानी भोपाल गइरहेको बताइएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता नरोत्तम मिश्रले मध्य प्रदेशमा सरकार बचाउन नसक्ने बताएका छन् । 

मङ्गलबार साँझ भाजपा संसदीय दलको बैठक हुँदैछ र त्यो बैठकमा महत्त्वपूर्ण फैसला हुनसक्ने बताइएको छ । 

मध्य प्रदेशका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता दिग्विजय सिंहले भने, ‘ज्योतिरादित्यले कुन सन्दर्भमा प्रधानमन्त्री मोदी र अमित शाहसँग भेट गरे भन्ने थाहा छैन ।’ जबसम्म सिन्धियाको भनाइ सार्वजनिक हुँदैन, तबसम्म केही भन्न नसकिने उनले बताए ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया