बाँदरकाे परिवार नियाेजन गर्न किसानकाे माग

 चैत ३, २०७६ सोमबार १५:४५:४० | रासस
unn.prixa.net

खाेटाङ – बाँदर पीडित किसान हलो, जुवा, दाँते र कोदालो सहित विरोध र्‍यालीमा उत्रिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार कृषि औजार सहित र्‍याली गरेका हुन् । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले वितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए । 

गएकाे फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिकालाई ज्ञापनपत्र दिने निर्णय गरेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । ती किसानले गएकाे मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए । 

‘बाँदरको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले अन्नपात जोगाउन सकिएनँ’, उहाँले भन्नुभयो, ‘बाँदर मार्न पाइँदैन भने खोरमा थुनेर राख्ने व्यवस्था गरियोस्, त्यहीँ दानापानी दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो ।’

विसं २०७५ फागुनमा समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुशीनगर उत्तरप्रदेशका पेसेवार शिकारी झिकाएर वडा ५ काे लफ्याङकाे छर्का, लुछिमलगायतका ठाउँबाट बाँदर समातिएको थियो । 

नियन्त्रणमा लिइएका बाँदर निकुञ्जमा लैजानुअघि नै समातेर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो । बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण समितिले बाँदरलाई खोरमा थुन्ने र परिवार नियोजन गर्नुपर्ने आवाजसमेत उठाएका छन् । 

नगरपालिकाको दश लाख आर्थिक सहयोगमा गएकाे वर्षको फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालेको थियो । किसानको मागपछि बाँदर समात्न आर्थिक सहयोग गरेको नगरपालिकाले यसपल्ट भने झट्ट सहयोग गर्नसक्ने अवस्था देखिएको छैन ।

दश पालिका रहेको खाेटाङका धेरैजसो ठाउँमा बाँदर आतङ्क रहेको छ । खेतबारीमा टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका विभिन्न बालीनालीसमेत बाँदरले विनाश गर्न थालेपछि उत्तरी क्षेत्रका बासिन्दाले चन्दा सङ्कलन सुरु गरेका छन् । 

बाँदरका बथान गाउँमा आएर खेतबारीमा लगाइएका बालीनाली सखाप पार्न थालेपछि धपाउन चन्दा सङ्कलन सुरु गरिएकाे हाे । बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँका दरले चन्दा उठाएर बाँदर धपाउने टोली परिचालन गरिएको केपिलासगढी गाउँपालिका ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताउनुभयो ।

‘गाउँ वरपरका जङ्गलमा बस्ने बाँदरलाई खेदेर कम्तीमा दूधकोशी किनारमा रहेको रावाखोला फेदीसम्म पुर्‍याउने गरिएको छ’, उहाँले भन्नुभयो, ‘उनीहरुलाई खाजा तथा खाना उपलब्ध गराउन चन्दा सङ्कलन गरिएको हो ।’

बाँदर धपाउन हरेक घरबाट एक जना अनिवार्य खट्नुपर्ने नियम बनाइएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । बाँदर आतङ्कबाट मुक्ति पाउन जिल्लाका किसान जति पनि खर्च गर्न तयार रहेका छन् । 

बाँदर मार्न कानुनी अड्चन भएकाले स्थानीय बासिन्दाले यस्तो अभियान चलाएका केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया