‘लकडाउन’ को पालना गर्नुस्, गम्भीर हुनुस् : भारतीय प्रधानमन्त्री मोदी

 चैत १०, २०७६ सोमबार १२:४५:२३ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लकडाउन’ लाई लिएर आफ्ना नागरिक गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

मोदीले सोमबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्नुस् ।’

साथै प्रधानमन्त्री मोदीले नियम र कानुन कार्यान्वयन गराउन राज्य सरकारसँग अनुरोध गरेका छन् । 

भारतमा अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय १५ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । 

कोरोना भाइरसको सङ्कटसँग लड्न २२ वटा राज्यको ७५ वटा जिल्लामा लकडाउन गरिएको छ । जसका कारण भारतको महानगरीय क्षेत्र सुनसान देखिएको छ ।

दिल्लीमा पनि सोमबार बिहान ६ बजेदेखि आउँदो मार्च ३१ तारिखको राति १० बजेसम्म लकडाउनको घोषणा गरिएको छ । यो अवधिमा आवश्यक चीज बाहेक अन्य सबै बजार, पसल र उद्योग बन्द रहनेछन् । 

अहिलेसम्म एक सय ८६ देशमा फैलिसकेको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख तीस हजारभन्दा बढी छ । १४ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने झण्डै ९८ हजार मानिस उपचारपछि घर फर्किएका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया