पर्सामा कालोबजारी गर्ने तीन पसल कारबाहीमा

 चैत १३, २०७६ बिहिबार १९:४०:४० | रासस
unn.prixa.net

पर्सा - 'लकडाउन'को अवस्थामा कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका  तीन पसल कारबाहीमा परेका छन् । ती पसलहरुलाई   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले पसलमा छापा मारी जरिबाना तिराएको छ । 

कार्यालयका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले भरत इन्टरप्राइजेज, सिद्धार्थ सब्जी भण्डार तथा सुरेश मेडिकल पसलमा छापा मारेको हो । 

ती पसलले कृत्रिम मूल्य सिर्जना गरी कालोबजारी गरिरहेको पाइएकाले जरिबाना तिराइएको कार्यालयले जनाएको छ। औषधि पसलले पञ्जा बेच्दा मूल्यमा एकरुपता नराखेको र  बिलबीजक नक्कली देखाई ठगी गरेकाले उनलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको हो । 

इन्टरप्राइजेज र सब्जी भण्डारले बिक्री गरिरहेको आलुसम्बन्धी कागजात दुरुस्त नराखी बढी मूल्यमा बेच्ने गरेकाले दुवैलाई जनही एक एक हजार जरिवाना गराइएको हो । 

अनुगमन टोलीले वीरगञ्जका नगवा, पानीटंकी र मूर्लीमा रहेका तरकारी बजारको निरीक्षण गरी बढी मूल्यमा तरकारी बेच्नेलाई बढी मूल्यमा बिक्री गरेको पाइए कारबाही गरिने चेतावनी दिएको छ । 

लकडाउनपछि वीरगञ्ज घण्टाघरको पान मण्डी गल्लीमा रहेका थोक व्यापारीले एकाबिहानै  व्यापारीलाई बढी मूल्य लिएर खाद्यान्नलगायत सामान बेचेकको उपभोक्ताले गुनासो गरेका थिए । 

स्थानीय प्रशासनले छापा मारी कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्नुपर्ने माग पीडित उपभोेक्ताले गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया