कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खोटाङको तयारी

 चैत १६, २०७६ आइतबार १६:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङमा पनि कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई वटा नगरपालिका, आठ वटा गाउँपालिका र जिल्लास्तरमा पहल भैरहेको छ ।

पालिका तथा जिल्ला तहमा अहिले बिशेषगरी पूर्वसावधानीका साथै क्वरेण्टीन, आइसोलेसन वार्ड निर्माण लगायतका काम गरिरहेका छन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ४० बेडको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३६ बेडको, जन्तेढुंगा गाउँपालिकामा २० बेडको, हलेसी तुवाचुङ नगरपालिकामा ११ बेडको, केपीलासगढी गाउँपालिकामा १० बेडको, ऐसेलुखर्क गाउँपालिकामा १० बेडको लगायतका क्वरेण्टीन तयारी अवस्थामा राखेको बताएका छन् । 

कतिपय वडा–वडामा पनि क्वरेण्टीन बनाइएको छ । विदेशबाट घर आएका मानिसको स्वास्थ्य जाँचका लागि सबै पालिकाहरुले आ–आफ्नो नाकामा गरी २१ वटा हेल्थडेस्क स्थापना गरेका छन् । जिल्ला अस्पताल दिक्तेलमा तीन बेडको र ऐसेलुखर्क गाउँपालिकामा १० बेडको आइसोलेसन वार्ड निर्माण गरिसकिएको छ ।

पूर्वाधार तयार पार्ने काम बाहेक कोरोना भाइरसबाट बच्ने उपायका बारेमा हरेक पालिकामा सचेतनामुलक गतिविधि सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

अहिलेसम्म दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मात्र विदेशबाट आएका मानिसलाई आफ्नो क्वरेण्टीनमा राखेको छ । अरुले विदेशबाट आएका व्यक्तीलाई पनि सेल्फ क्वरेण्टीनमा बस्ने छुट दिएका छन् । यसले संक्रमण फैलिने खतरा रहेको स्थानीयबासीन्दाको गुनासो छ ।

कतिपय पालिकाले विदेशबाट फर्किएका युवाको तथ्यांक संकलन गरिरहेको बताएका छन् । सरकारले लागू गरेको ‘लकडाउन’ व्यापारिक केन्द्र र बजार क्षेत्रमा प्रभावकारी देखिए पनि गाउँघरमा लकडाउनको प्रभाव देखिदैन ।

गाउँघरमा घरायसी कामले गर्दा एक ठाउँमा मात्र ‘लकडाउन’मा बस्नसक्ने अवस्था नभएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । अर्कातर्फ कोरोना रोकथामका लागि चेकजाँचमा खटाइएका स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिम इक्विपमेन्ट पीपीई अझै आइपुेको छैन । बनाइएका क्वरेण्टीन र आइसोलेसन वार्ड पनि मापदण्ड अनुशारका बनाइएका छैनन् ।

प्रदेश सरकार र संघीय सरकार समक्ष पर्सनल प्रोटेक्टिम इक्विपमेन्ट, ज्वरो चेक गर्ने मेसिन, मास्क, ग्लोब्स, औषधि लगायतका आवश्यकीय सामग्री माग गरे पनि हालसम्म प्राप्त हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयबाट केही दर्जन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, ग्लोब्स, मास्क लगायतका सुरक्षाका सामग्री आइबार पठाइएको समन्वय समितिले जनाएको छ । यस बाहेक जिल्ला स्वास्थ्य कार्यालयले पनि कोरोनाको रोकथामका लागि आवश्यकीय सामग्री मगाएको जनाएको छ ।

प्रकोपको संभावना बढिरहेको बेलामा पनि पालिकाले माथिल्ला सरकारसँग समन्वय गरी आबश्यक काम कम गरेको स्थानीयबासीन्दाको गुनासो छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया