बुटवलको आइसोलेशनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना नभएको पुष्टि

 चैत १७, २०७६ सोमबार १६:४०:१ | रासस
unn.prixa.net

रुपन्देही – बुटवलमा रहेको कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न ज्यान गुमाएका बिरामीको रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ ।

पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । आज आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो।

उनी वैदेशिक रोजगारीका लागि दुबईबाट यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडामा निवासमा आराम गर्दै बसेका थिए ।

वैदेशिक रोजगारीमा दुबई रहँदादेखि नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि पनि मेडिकल, मुर्गियामा रहेको स्वास्थ्यचौकी हुँदै चैत १३ गतेमात्र बुटवल धागो कारखानामा रहेको अस्थायी कोरोना विशेष आइसोलेशनमा भर्ना भएका थिए । 

अस्पतालमा भर्ना भएपछि ज्वरो आउने र स्वास फेर्न गाह्रो भइरहेको अवस्थामा उनको आइतबार अपराह्न ज्यान गएको थियो । उनको स्वाब भने आइतबार बिहान मात्र परीक्षणका लागि काठमाण्डौ पठाइएकामा आज प्राप्त रिपोर्टमा कोरोना नेगेटिभ पाइएको मेडिकल सुपरिटेन्डेन्ट डा खनालले जानकारी दिनुभयो ।

 मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएकामा अब प्रक्रिया पुर्याएर आफन्तलाई बुझाइनेसमेत डा खनालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया