कोरोनाबारे उत्तर थाहा नभएका प्रश्नहरु

 चैत १८, २०७६ मंगलबार ७:३३:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस  (कोभिड १९) सँग जोडिएर आम रूपमा उठेका कतिपय प्रश्नहरुको अहिलेसम्म जवाफ भेटिएको छैन । कोरोना सङ्क्रमणको लक्षण नदेखिएको मानिसले अरुलाई कोरोना सार्छ भन्ने चर्चा धेरै हुने गरेको भए पनि यसबारेमा वैज्ञानिकहरु अझै स्पष्ट भएका छैनन् ।

कसले सारिरहेका छन् भाइरस ?

कतिपय वयस्कलाई आफ्नो शरीरमा भाइरस छ भन्ने थाहै नहुने र कतिपय बालबालिकाले सङ्क्रमणको लक्षण नदेखाउने गरेको भए पनि कसले सङ्क्रमण फैलाइरहेका छन् भन्ने बारेमा स्पष्ट नभएको वैज्ञानिकहरुले बताएका बीबीसीले जनाएको छ ।

कोरोनाबाट बच्न प्रतिरोधात्मक क्षमता बन्छ ?

कोरोना भाइरसको सङ्क्रमण नहुने गरी मानिसमा प्रतिरोधात्मक क्षमता बन्न सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ पनि अझै भेटिएको छैन । प्रारम्भिक अध्ययनमा शरीरले भाइरसको प्रतिकार गर्न एन्टिबडी बनाउने देखिएको छ । त्यसले प्रतिरोधात्मक क्षमता बनाइदिने सम्भावना भए पनि त्यो कति दीर्घकालीन हुन्छ भन्ने थाहा भएको छैन ।

किन सङ्क्रमितमध्ये महिलाभन्दा पुरुषको धेरै ज्यान जान्छ ?

कोरोनाको कारण किन महिलाभन्दा पुरुषको धेरै ज्यान गइरहेको छ भन्ने प्रश्नको जवाफ पनि वैज्ञाकिहरुले दिएका छैनन् । चीनमा गरिएको एउटा अध्ययन अनुसार पुरुष सङ्क्रमितमध्ये २ दशमलव ८ प्रतिशत र महिला सङ्क्रमितमध्ये १ दशमलव ७ प्रतिशतको ज्यान गएको छ ।

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेमध्ये ७० प्रतिशत पुरुष छन् । महिलाको तुलनामा पुरुषहरुले चुरोट, बिँडी धेरै खाएको भन्ने कुरामा वैज्ञानिकहरु विश्वास त मान्छन् तर पुरुषको भन्दा महिलाको प्रतिरक्षा प्रणाली बलियो भएर पो हो कि भन्ने कोणबाट अनुसन्धानहरु सुरु भएका बीबीसीले जनाएको छ । 

अनि यो भाइरसले कसरी सङ्क्रमण गर्छ भन्ने कुरा जान्न अहिले अन्तर्राष्ट्रियस्तरमै ठूलो प्रयास भइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया