सङ्कटको बेला मान्छे भोको नराख्ने जिम्मेवारी हाम्रो हो: गाउँपालिका महासङ्घ अध्यक्ष

 चैत १८, २०७६ मंगलबार १२:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गाउँपालिका महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले सङ्कटका बेलामा आफ्नो क्षेत्रमा कोही पनि भोकै नरहोस् भनेर पालिकाहरु सचेत हुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय सरकारले राहतका प्याकेज कसरी वितरण गर्ने भन्ने स्पष्ट मापदण्ड पठाइनसकेको अवस्थामा पनि पालिकाहरुले यसको जिम्मेवारी लिनुपर्ने श्रेष्ठले बताउनुभयो । उज्यालोसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘पहिलो कुरा त आफ्नो क्षेत्रमा को साँच्चै भोकै पर्ने अवस्थामा आउन सक्छ भन्ने वडा र पालिकालाई थाहा हुन्छ, त्यो थाहा नभए पनि तपाईँ के काम गर्नुहुन्छ, घरमा कति चामाल छ, आम्दानीको अरु केही स्रोत छ कि छैन भन्ने दुई/चार वटा प्रश्न सहित फाराम भर्न लगाएमा १० किलो चामल लिन हुने खाने आउँदैनन् ।’ उहाँले यस्तो बेलामा पालिका प्रतिनिधिहरु अल्मल्लिन नहुने बताउनुभयो ।

सङ्क्रमण नियन्त्रण तथा उपचारको साथै कम्तीमा कसैले भोको बस्न नपरोस् भनेर चनाखो हुनुपर्ने उहाँको भनाइ छ । बजेट छैन वा लेखा बन्द छ भनेर नबसी बरु भौतिक विकासका काम अर्को वर्ष गर्ने र तत्कालका लागि प्रतिनिधिहरुले सरसपाट गरेर भए पनि खानेकुराको उपलब्धता गरिदिनुपर्ने उहाँले बताउनुभयो ।

राहतका प्याकेजमा सङ्घीय र प्रदेश सरकारबाट पनि सहयोग हुनुपर्ने तर ‘लकडाउन’कै कारण कोही भोको बस्नु नपरोस् भनेर पालिकाहरु नै जिम्मेवार रहेको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले कोही पालिका राहत वितरणमा अल्मल्लिएको भए नअल्मल्लिन आग्रह गर्दै भोक टार्न जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । तर राहत वितरणका नाममा भिडभाड नगरि व्यक्ति पहिचान गरेर वितरण गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

तर उहाँले सङ्कटको यो समयमा सस्तो लोकप्रियताका लागि गरिने निर्णयहरु जोखिम हुने भन्दै त्यसो नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सेवा, सुविधा लगायतका कतिपय कुराहरु एकरुपताका लागि सङ्घीय सरकारले गर्छ, यो बेला सङ्क्रमण फैलनबाट रोक्न, आवश्यक उपचार गर्न र कोही भोको नपरोस् भनेर सचेत रहन आवश्यक छ । सस्तो लोकप्रियताका लागि निर्णयहरु गर्ने हैन ।’

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prithvi ligal

    April 1, 2020, 9:11 a.m.

    Excellent. Hats of to you. This is exactly what is needed now. Hope, all palikas will ensure this.

  •  0 Reply

तपाईको प्रतिक्रिया