नेपाल भ्रमण वर्ष २०२० स्थगित

 चैत १८, २०७६ मंगलबार १८:५२:४० | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । 

मन्त्रिपरिषद्को गएको चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा स्थगित भएको छ, अन्य कार्यक्रम अहिलेलाई तय भएको छैन, आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कस्तो अभियान चलाउने भन्ने छलफल हुनेछ ।’

यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलमा रहेको भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन गरिने सचिव अधिकारीले बताउनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । भ्रमण वर्षको सन् २०२० जनवरी एकमा एक भव्य समारोहकाबीच दशरथ रङ्गशालामा राष्ट्रति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको थियो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्ष प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरिएको हो । अहिले नेपालमा कोभिड–१९का पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा एक जना उपचारपछि घर फर्किसकेका छन् । 

सरकारले कोभिड–१९को संक्रमण फैलन नदिन गएको चैत ११ गतेदेखि दुई हप्ताका लागि देशभर लकडाउन गरेको छ । वैशाखको पहिलो हप्तासम्म देशमा हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

कोभिड १९ को विश्व अर्थतन्त्रमा प्रभाव परेको छ । नेपालको पर्यटनलगायत अन्य आर्थिक क्षेत्रमा नराम्ररी असर पुगेको व्यवसायीले बताएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए ।  त्यस्तै सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया