निगमको वाइडबडी जहाज आज अस्ट्रेलिया उड्दै

 चैत १९, २०७६ बुधबार १७:०:१५ | रासस
unn.prixa.net

काठमाण्डौ – चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अस्ट्रेलिया  उड्दैछ । 

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।

निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

वाइडबडी जहाजले अष्टे«लिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताउनुभयो । उहाँले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरि क्वालालम्पुर हुँदै  बिहीबार राति नेपालमा अवतरण गर्ने तालि रहेको जानकारी दिनुभयो ।

वाइडबडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । 

चीनबाट कोभिड-१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ । यसअघि निगमको वाइडबडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाण्डौ ल्याएको थियो। 

हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया