सातौँ सामाजिक सुरक्षा दिवस : दीगो पेन्सन र गुणस्तरीय स्वास्थ्य ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै पशुपतिमा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वरेन्टीनमा बसिरहेका छन् ।
सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै क्वरेन्टीनमा बसिरहेका हुन् । ‘कोभिड-१९’ को जोखिम वर्गका रुपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी भेटघाट रोकिएको र उहाँहरुलाई घरभित्रै दूरी कायम गरी बस्न भनिएको कार्यालयले जनाएको छ ।
कर्मचारी दैनिक घर जाने र आउने गर्दा यहाँ भित्रका ज्येष्ठ नागरिकमा पनि रोग फैलनसक्ने भन्दै कार्यरत धेरै कर्मचारी यहीँ बस्न थालिएको प्रमुख देवी चालिसेले बताउनुभयो ।
चैत महिनाको सुरुदेखि नै नेपाली र विदेशी आगन्तुक दुवैलाई भित्र आउन नदिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु भित्र नै सुरक्षित बसिरहनु भएको छ, बाहिरी भेटघाट गर्नुभएको छैन ।’
वृद्धाश्रमभित्र पहिलेदेखि सामाजिक दूरीमा खाटहरु रहेका छन् । जाडो भएकाले अघिल्लो महिनासम्म घाम ताप्न परिसरमा निस्कने भए पनि अहिले ज्येष्ठ नागरिक घरभित्रै बस्ने गरेका छन् ।
कुनै काम परेर बाहिर निस्कँदा पनि सकेसम्म दूरीमै रहन भनिएको प्रमुख चालिसेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु पनि सजग भएर मानिरहनुभएको छ।’
अहिलेसम्म कसैमा पनि रोगको सङ्क्रमण नदेखिए पनि कुनै लक्षण देखिएमा छुट्टै राख्नका लागि तीन वटा बेड रहेको उहाँले बताउनुभयो । यहाँ रहेका ज्येष्ठ नागरिकलाई कार्यालयले हात धुनका लागि साबुनपानी, ह्याण्ड वास, सेनेटाइजर, मास्कलगायतका सामग्री उपलब्ध गराएको छ । उहाँहरुलाई कोभिड-१९ भनेको के हो र कसरी यसबाट बच्न सकिन्छ भनी सजग गराइएको कार्यालयले जनाएको छ ।
सुरुमा यसबारे जानकारी दिँदा ‘हामी मर्ने उमेरका मान्छेलाई के चिन्ता’ भन्ने गर्नुभएको उहाँले बताउनुभयो । अहिले बुबाआमा आफैँ दैनिक रेडियो सुन्ने र टेलिभिजन हेरेर रोगबारे धेरै कुरा बुझ्न थाल्नुभएको छ । उहाँले भन्नुभयो, ‘उहाँहरु बुझेरै यसो गर्नुपर्छ त्यसो गर्नु हुँदैन भन्ने हुनुभएको छ ।’
यो वृद्धाश्रम नेपाल सरकारद्वारा सञ्चालित देशको एक मात्रै वृद्धाश्रम हो । यहाँ २५ जना कर्मचारी कार्यरत रहेकामा हाल १७ जना यहीँ बस्दै आएका छन् ।
सामान्य अवस्थामा रातको समयमा नर्स, सुरक्षाकर्मी र सुसारे एकएक जना मात्रै रातमा बस्ने गर्दथे । कर्मचारी बाहिरभित्र गर्दा रोगको सङ्क्रमण पनि सँगै आउनसक्छ भनी उहाँहरु पनि यहीँ बस्ने गर्नुभएको हो । यहाँ दैनिक आवश्यक कर्मचारी मात्रै यहाँ बस्ने गरेका हुन् । उहाँले भन्नुभयो, ‘त्योभन्दा बढी मानिस बस्नका लागि यहाँ स्थान पनि पुग्दैन ।’
कुनै पनि काम परेर कर्मचारी घर बाहिर जाँदा पनि आवश्यक सावधानी अपनाउने र आएपछि पनि सरसफाइपछि मात्रै भित्र प्रवेश गरिरहेको उहाँले बताउनुभयो । दैनिक आउने तरकारी, दूधलगायतका खाद्यन्नलाई पनि सुरक्षित गरेर मात्रै भित्र प्रवेश गराइन्छ ।
वृद्धाश्रममा अहिलेसम्म आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव नभएको प्रमुख चालिसेले बताउनुभयो । आवश्यक पर्दा मन्त्रालयसँगको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको हो ।
आमनागरिकलाई रासनमा समस्या आइरहँदा पनि वृद्धाश्रम भित्र भने यस्तो समस्या छैन । सरकारी खरिद नियमानुसार एक वर्षका लागि खरिद गर्ने गरी सम्झौता भएकाले त्यसको समस्या नआएको हो । आपूर्तिकर्ताले यहाँ आवश्यक खाद्यन्न आपूर्ति गरिरहेको प्रमुख चालिसेले बताउनुभयो ।
वृद्धाश्रमले सरकारले तोकेका खानेकुरा आपूर्तिकर्ताले ल्याउने गरेका हुन् । सरकारले नतोके पनि ज्येष्ठ नागरिकले चियासँग बिस्कुट खाने गरेका थिए । अहिले बाहिरबाट आगन्तुक नआउँदा बिस्कुट आउन छाडेको छ ।
अहिलेसम्म पहिलेको स्टक बाँकी भए पनि अब त्यो सकिन लागेको छ । उहाँले भन्नुभयो, ‘तत्काल दाताबाट नआउने भएकाले त्यसबारे हामी मन्त्रालयसँग कुराकानी गर्नेछौँ ।’
वृद्धाश्रममा रहेको स्वास्थ्य विभागले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएको छ । त्यसबाहेकका उपचारका लागि उहाँहरुलाई सम्बन्धित अस्पतालमा लगिन्छ ।
कोभिड-१९ को सङ्क्रमण कुनै व्यक्तिमा देखिएमा तत्काल तोकिएको अस्पताल लगिने उहाँले बताउनुभयो । यहाँ रहेको गाडी तयारी अवस्थामा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।