लकडाउन प्रभाव : रगतको अभाव

 चैत २१, २०७६ शुक्रबार १०:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउन घोषणा गरेपछि बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव भएको छ ।

कोरोना सङ्क्रमणको डर, रक्तदातालाई घरबाहिर निस्कन समस्या तथा समूहमा रगत सङ्कलन नभएपछि रगतको अभाव भएको हो । लकडाउनपछि रगतको माग र आपूर्ति दुवै घटेको र रगतको व्यवस्थापनमा केही समस्या भएको केन्द्रीय रक्तसञ्चार सेवाले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार सामान्य अवस्थामा दैनिक २ सय ५० युनिट रगतको माग हुने गरेकोमा अहिले बढीमा ५० युनिट मात्रै माग हुँदै आएको छ ।

रगतको अभाव हुन नदिन मौज्दात रगत र बेलाबेला सङ्कलन भएको रगतबाट आपूर्ति हुँदै आएको छ । स लकडाउन घोषणा गरेपछि सुरुका तीन दिन ११,१२ र १३ गते निकै समस्या भएको तर अहिले मोबाइल क्याम्पमार्फत रगत सङ्कलन भइरहेको केन्द्रीय रक्तसञ्चार सेवा ब्लड बैंकका निर्देशक डाक्टर मनिताराज कर्णिकारले जानकारी दिनुभयो ।

सुरुमा एक हप्ताका लागि लकडाउन गरेको सरकारले फेरि आठ दिन थपेको हो । लकडाउनका कारण अत्यावश्यक सेवा सहित विभिन्न क्षेत्रमा असर देखिएको छ । लकडाउन थप लम्बिएपछि देशका विभिन्न अस्पतालले रगतको अभाव भएको गुनासो पनि गरेका छन् । रगत नपाउँदा अप्रेशन गर्नुपर्ने तथा रगत दिनुपर्ने बिरामी मर्कामा परेका छन् ।

सरकारको निर्देशन पालना गरी अस्पतालले नियमित स्वास्थ जाँच र उपचार रोकेका छन् । तर आकस्मिक सेवा भने रोकिएको छैन । लकडाउनलगत्तै रगतको अभाव भएपछि मोबाइल क्याम्प, रक्तदाता, विभिन्न सङ्घ संस्थालाई आह्वान गरेर रगतको सङ्कलन र व्यवस्थापन गर्दै आएको ब्लड बैंकका निर्देशक डाक्टर कर्णिकारले बताउनुभयो ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट रगत सङ्कलन गर्ने काम भइरहेको, अस्पताल आफैले पनि रगत व्यवस्थापन गरेको र बिरामीका आफन्त बोलाएर पनि रगतको अभाव हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ । मोबाइल सेवाबाट प्राविधिक घरमै पठाएर रगत सङ्कलन गर्ने व्यवस्था मिलाएको नेपाल रेडक्रस सोसाईटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिनुभयो । साथै उहाँले रगत दिन चाहनेलाई रक्तसञ्चार केन्द्रको केन्द्रीय कार्यालय, रगत सङ्कलन केन्द्र, अस्पताल र ब्लड बैंकमा पुगेर रगत दान गर्न पनि आग्रह गर्नुभयो ।

स्वस्थ व्यक्तिले तीन/तीन महिनामा रगत दान गर्न सक्ने डाक्टर कर्णिकारले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया