कोरोना महामारीविरुद्ध प्रदेश २ सरकारले के गर्दैछ ? स्थानीय सरकारहरुको कस्तो छ तयारी ?

 चैत २१, २०७६ शुक्रबार १९:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– प्रदेश २ बागमती प्रदेशपछि सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश हो । प्रदेश २ का आठवटै जिल्लाको अन्तर्राष्ट्रिय सीमा भारतसँग जोडिएको छ । सिमाना खुला छ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र ज्यान जानेको सङ्ख्या प्रतिदिन बढ्दैछ । भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि दिल्ली, पञ्जाबलगायत ठाउँमा कामका लागि गएका प्रदेश २ का नागरिक फर्किएका छन् ।

‘लकडाउन’अघि र पछि भारतसँग भएका आवतजावतले पुरै प्रदेश कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । यस्तै, अहिलेसम्म भेटिएका ६ मध्ये तीनजना कोरोना प्रभावित चढेको कतार एयरवेजको विमानमा ३४ जना यात्री प्रदेश २ का थिए । 

प्रदेश २ को आठ जिल्लामा ५ सय ४ जना क्वरेण्टीनमा राखिएका छन् । होम क्वारेन्टाइनमा १ सय ५१ जना छन् । यस्तै आइसोलेसनमा १७ जना रहेको कोरोना भाइरस द्रुत प्रतिकार प्राविधिक समितिका संयोजक विजय झाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म प्रदेश २ बाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएकोमा आठजनाकै स्वाबको रिर्पोट निगेटिभ आएको छ । यस्तै, गएको सोमबार १५ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको छ ।

यसैबीच प्रदेश सरकारले अति विपन्नहरुलाई छाक टार्नका लागि राहत वितरण गर्ने निर्देशिका तयार गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्देशिकालाई स्वीकृति दिएको छ ।

निर्देशिकाअनुसार सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले प्रदेश सरकारबाट प्रदान गरिने राहत सामग्री पाउने छैन । यस्तै, जुन परिवारका कुनै पनि सदस्य राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा छैन त्यस्तो परिवारलाई मात्रै राहत दिइने छ । त्यसैगरी घरायसी/पारिवारिक कुनै पेशा व्यवसाय नभएको, दैनिक ज्याला, मजदुरी गर्ने र कुनै आयस्रोत नभएको व्यक्तिलाई राहत दिने नियम बनाइएको छ ।

कोरोना भाइरसको जोखिम न्युनीकरणका प्रयास, क्वरेण्टीन, एकान्तबास र ‘लकडाउन’को अवस्थाबारे प्रदेश २ का उज्यालो सहकर्मीहरुको सहयोगमा तयार पारिएको यो सामग्री:   

धनुषा

जनकपुरधाममा ‘लकडाउन’मा दैनिक ज्याला गरी गुजारा गर्ने मजदुरको घरपरिवारलाई पालिकाका जनप्रतिनिधिको पहलमा अत्यावाश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ का अध्यक्ष जानकीराम साहको पहलमा गरिब तथा दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एशोसिएनले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

त्यसैगरी धनुषाको सदरमुकाम एवं प्रदेश राजधानी जनकपुरधाममा रामनवमी ‘डकडाउन’कै अवस्थामा मनाइएको छ । राममन्दिर र जानकी मन्दिरमा श्रद्धालुविना नै पूजाअर्चना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी दुवै मन्दिरका मूल ढोका बन्द गरी महन्तद्वारा पूजा अर्चना गरिएको हो । यस्तै, चैती छठपनि घरघरमै मनाइएको छ । 

यसै हप्ता प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन राखिएको छ । प्रादेशिक अस्पतालबाट कोरोना परीक्षण सेवा सुरु गर्ने तयारी छ । धनुषाका १८ मध्ये १५ वटा पालिकाले अहिलेसम्म क्वरेण्टीन तयार गरेका छन् । 

सप्तरी

सप्तरीमा अहिलेसम्म १ सय २७ पुरुष र ९ महिला गरी १ सय ३६ जनालाई क्वरेटीनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । क्वरेण्टीनमा रहेका केहीमा रुघाखोकी तथा केहीमा उच्च ज्वरो देखिएको छ । सप्तरीमा १८ वटै पालिकाले ४ सय ४४ शैय्याको क्वरेण्टीन सञ्चालन गरेका छन् ।

यस्तै सप्तरीबाट ५० जना कामदारलाई सप्तरी प्रहरीले गन्तव्यमा पुर्याएको छ । विराटनगर, इटहरी र राजविराजलगायतका विभिन्न सहरबाट आएर अलपत्र परेका सर्लाहीका ३८ जना, रौतहटका ४ जना, बाराका ४ जना र सिरहाका ४ जना समेत गरी ५० जनालाई उद्धार गरी पूर्वपश्चिम राजमार्गको रुपनीबाट गन्तव्यतर्फ पठाइएको हो । 

यस्तै, कोरोना भाइरसको सङ्क्रमण कम गर्न राजविराज नगरपालिकाले बजार क्षेत्रमा किटनाशक औषधी छर्केको छ । बढी भीडभाड हुने स्थानमा किटनाशक औषधी छर्कने काम भइरहेको नगरपालिकाले जनाएको छ ।     

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षण र उपचारमा प्रयोग हुने अत्यावश्यक सामग्रीहरु राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालले प्राप्त गरेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार पीपीई सेट २० थान, एक सय थान गाउन, पाँच हजार थान मास्क र सेनिटाइजर ५ बोतल अस्पतालले प्राप्त गरी प्रयोग सुरु गरेको उहाँले बताउनुभयो । 

सिरहा

सिरहाको धनगढीमाई नगरपालिका– ११ मा अस्थायी कोरोना अस्पताल सञ्चालन गरिएको छ । अस्थायी अस्पतालमा १८ वटा आइसोलेसन शैय्या छन् । प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले आवश्यकताअनुसार शैय्या बढाइने जानकारी दिनुभयो ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सहरदेखि देहातसम्म मास्कको प्रयोग व्यापक पाइएको छ । मन्दिरका पुजारी, दुध बेच्ने, भैँसी चराउने र पसलमा खाद्य सामग्रीका लागि लाइन बस्नेदेखि सडकमा अति आवश्यक काममा यात्रा गर्नेहरु सबैले मास्क प्रयोग गरिरहेका छन् ।

यसैबीच लहान नगरपालिकाका प्रमुख मुनीलाल साहले २४ वटै वडालाई एकदेखि दुई लाख रुपैयाँसम्म खर्च गरेर मास्क र साबुन वितरण गर्न निर्देशन दिनुभयो । नगरप्रमुख साहका अनुसार सम्भावित सङ्क्रमण रोक्न नगरपालिका क्षेत्रभित्र क्लोरिन छर्ने काम पनि भइरहेको छ ।  

यस्तै, जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), पञ्जा र मास्कलगायतका सुरक्षा सामग्री आपूर्ति गरिएको सिरहा अस्पतालका डा. नागेन्द्रप्रसाद यादवले बताउनुभयो । 

महोत्तरी

‘लकडाउन’ लागु गरिएसँगै सरकारले एक महिनाको घरभाडा नलिन अपिल गरेपछि बर्दिबासमा घरधनीले घरभाडा नलिने घोषणा गरेका छन् । नमुना तरकारी बजारका घरधनी बर्दिवास–३ गौरीडाँडाका माधव लामिछानेले घरभाडा नलिने घोषणा गर्नुभयो । जसमा २५ वटा बिक्रीकक्ष छन् ।

यसअघि बर्दिबास–१ का हर्कबहादुर तामाङले औरहीचोकमा रहेको आफ्नो घरमा व्यापार गर्ने सबैलाई ‘लकडाउन’ रहेसम्मको घरभाडा नलिने घोषणा गर्नुभएको थियो । तामाङले १७ वटा सटर भाडामा लगाउनुभएको छ ।

यस्तै, कोरोनाको सम्भावित सङ्क्रमण रोक्न सोनमा गाउँपालिकाले एक करोड रुपैयाँको कोष स्थापना गरेको गाउँपालिका अध्यक्ष राजकुमार यादवले बताउनुभयो । त्यसैगरी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको खखना माध्यमिक विद्यालयमा ५० शैय्याको क्वरेण्टीन निर्माण गरिएको छ ।     

सर्लाही

सदरमुकाम मलङ्गवा नाकामा भारतबाट आएका १२ जना  नेपाली युवा अलपत्र परेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा काम गरी फर्किएका उनीहरु सीमामा अलपत्र परेका हुन् । ‘लकडाउन’ को कारण कम्पनी बन्द भएपछि उनीहरु आआफ्नो घर फर्किने क्रममा सीमावर्ती बजार सोनवर्षा आइपुगेका हुन् । 

मलङ्गवा नगरपालिकाका ६ जना, बरहथवा नगरपालिकाका ५ जना र ब्रम्हपुरी गाउँपालिकाका १ जना नेपाल प्रवेश गर्न पाउने अनुमतिका लागि सीमामा बसिरहेका छन् । उनीहरुलाई सोनवर्षा बजारको क्वरेण्टीनमा राखिएको छ ।   

 रौतहट

‘लकडाउन’बाट प्रभावित दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण गरिरहेको छ । मङ्गलवार नगरपालिकाको वडा नम्बर ४ टिकुलिया र गढवाका करिब ८० दलित परिवारलाई राहत वितरण गरिएको नगर प्रमख अजयकुमार गुप्ताले जानकारी दिनुभयो । कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै राजदेवी नगरपालिकाले ५० शैय्याको क्वरेण्टीन सञ्चालन गरेको छ । 

त्यसैगरी ‘लकडाउन’को पालना नभएपछि गौरमा चैत १८ गतेदेखि दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत पूर्ण रुपमा बन्द गराइएको थियो । दैनिक उपभोग्य सामान खरिद गर्न बिहान बेलुकी घरबाहिर निस्किनेको भिडका कारण सङ्क्रमण फैलिने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले औषधिबाहेकका सबै पसल पूर्णरुपमा बन्द गराएको थियो ।

यसैबीच गौर नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाटबजार सञ्चालन गरेको छ । नगरपालिका कार्यालयभन्दा पूर्वमा रहेको तरकारी बजारलाई बिक्रेता र क्रेताबीच तीन फिटको दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । 

बारा

कोरोनाको सङ्क्रमण कम गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रमा किटनाशक औषधी (सोडियम हाइपोक्लोराइट) छर्केको छ । कोरोनाको सङ्क्रमण रोक्न महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल र सेवाग्राही बढी आउने सरकारी कार्यालयलगायतका स्थानमा किटनाशक औषधी छर्किएको नगर प्रमुख डा. कृष्ण पौडेलले बताउनुभयो ।

यसैबीच सशस्त्र प्रहरी बल बारा गणको संयोजनमा भारतसँग आवागमन बढी हुने जिल्लाका तीन ठाउँमा कोरोना भाइरससम्बन्धी हेल्प डेस्क सञ्चालनमा आएका छन् । कलैया उपमहानगरपालिकाको मटिअर्वा, सिम्रौनगढको सतुही र सुवर्ण गाउँपालिकाको सन्तगञ्ज कबहिगोठमा हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनुभयो । 

पर्सा 

कोरोना भाइरसको सम्भावित जोखिमको कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई जेलमुक्त गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले बताउनुभयो । 

यसैबीच, ‘लकडाउन’ को अवज्ञा गर्दै केही भारतीयसहित विभिन्न सहरबाट पर्सा पुगेका ४ सयभन्दा बढी मानिसलाई ‘होल्डिङ्ग’मा राखिएको छ । त्यसैगरी ‘लकडाउन’ अवज्ञा गर्ने ३ सय ५२ जना भारतीयलाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उनीहरुलाई वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कलेजमा राखिएको छ ।

वीरगञ्ज महानगरपालिकाको बरेवा टोलमा ‘लकडाउन’ले समस्यामा परेका परिवारको लगत सङ्कलन गर्ने विषयमा दुईपक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया