महाकाली तरेर आउन नदिन चार ठाउँमा सशस्त्र प्रहरी खटिँदै

 चैत २३, २०७६ आइतबार १६:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको धार्चुलाबाट तुइन, ट्युबमार्फत र पौडिएर नेपालीहरु नेपाल फर्कने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले ४ ठाउँमा सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ ।

कोरोनाको संक्रमण रोकथामको लागि सरकारले देशभित्र लकडाउन गरेको र सीमानाका बन्द गरेपछि १ हजार भन्दा धेरै नेपाली दार्चुलाको पारिपट्टी भारतीय भूमी धार्चुलामा रहेका छन् । सरकारले नेपाल आउन नदिन महाकाली नदीको पुल बन्द गरेको छ ।

तर केहि नेपालीहरु भने महाकालीमा पौडिएर, तुइनमा र ट्युवमार्फत नेपाल आइरहेका छन् । अहिलेसम्म झण्डै एक सय जना नेपाली महाकाली तरेर नेपाल प्रवेश गरेको अनुमान रहेको दार्चुला प्रहरीले जनाएको छ । 

केहि ठाउँबाट दिउँसै र केहि ठाउँबाट रातको समयमा पनि दैनिक १०÷१२ जना नेपाली धार्चुलाबाट नेपाल आइरहेकाले यसलाई रोक्न प्रशासनले ४ वटा ठाउँमा चौविसै घन्टा खटिनेगरी शसस्त्र प्रहरी परिचालन गर्न लागेको हो ।

ब्यास गाउँपालिका वडा नम्बर दुई दुम्लिङ, वडा नम्बर पाँच धौलाकोटको स्याँखु, मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी र लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा १०÷१० जनाको दरले सशस्त्र प्रहरी परिचालनको तयारी भएको हो । सिमामा धेरै प्रहरी खटिनेभएपछि धनगढीबाट ४० जना प्रहरी दार्चुला जाँदैछन् । 

धार्चुलाको बसाइ छैन सजिलो, केहीलाई रुघाखोकी

अहिले भारतको धार्चुलामा ५ वटा शिविरमा १ हजार ६ जना नेपाली रहेका छन् । उनिहरुलाई विभिन्न स्कुल,क्याम्पस र सानो रंगशालामा राखिएको छ । कोरोनाको संक्रमण रोकथामको लागि क्वरेण्टीनमा राख्नुपर्ने भएपनि नेपालीहरु कोचाकोच भएर बसिरहेका छन् ।

धार्चुलाबाट १७ किलोमिटर टाढा रहेको बल्वाकोट, निगलपानी, २८  किलोमिटर परको जौलजिवी र बरम क्षेत्र र धार्चुलाको स्टेडियममा नेपालीलाई राखिएको छ । बल्वाकोटमा तीन सय ७१ जनालाई राखिएको छ भने धार्चुलाको स्टेडियममा एउटै शिविरमा ३ सय २५ जनासम्म राखिएको छ । 

आफुहरुले दुईछाक खान पाएको र घामपानी छेक्ने छानो मात्रै पाएको नेपालीको गुनासो छ । धार्चुलाको शिविरमा रहेका सुवास विश्वकर्माले भन्नुभयो, ‘हामीलाई २ छाक खान दिइरहेको छ, राती ५ जनासम्म एउटै ओच्छ्यानमा सुत्नुपर्छ,  भात बाहेक अरु खानेकुरा खान पाइएको छैन, यहाँ शिविरमा धेरैलाई रुघाखोकी पनि लागेको छ, यहाँको बसाई त बुहतै दुख छ हजुर ।’ 

भारतबाट आए नौ सय ४६ जना, क्वरेन्टिनमा छन् दुई सय २० जना

कोरोना संक्रमणको जोखिम बढेपनि दार्चुलामा भारतबाट नौ सय ४६ जना भित्रिएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनिहरु सबैलाई कम्तिमा १४ दिन क्वरेन्टिनमा राख्नुपर्ने थियो । तर अहिलेसम्म जम्मा २ सय २० जना मात्रै क्वरेण्टीनमा रहेका छन् ।

अरुलाई खोज्नको लागि पालिकाहरुलाई अनुरोध गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । दार्चुलाभर ६ सय ७३ बेडको क्वरेन्टिन तयार रहेकोमा अहिले जम्मा दुई सय ३० जना मात्रै क्वरेण्टीनमा बसेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया