सुनसरीमा लकडाउनका बेला दुई पक्षबीच झडप, दर्जनभन्दा बढी घाइते

 चैत २३, २०७६ आइतबार १८:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - लकडाउनको बेला सुनसरीको दुहबी नगरपालिका-९, छातावेलीमा झडाप हुँदा दर्जनभन्दा बढी घाइते भएका छन् ।

उनीहरुको सुनसरीको दुहवीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । वडा नम्बर ९ मा रहेको जयबाबा इँटा उद्योग लकडाउनका बेला पनि सञ्चालनमा रहेको भन्दै बन्द गर्न प्रहरीमा खबर गरेको विषयलाई लिएर झडप भएको एक पक्षले जनाएको छ ।

अर्को पक्षले भने इँटा भट्टाको विषयमा नभइ राहत हिनामिना गरेको भन्दै आरोप लगाएपछि झडप भएको दावी गरेको छ । दुहवी वडा नम्बर ९ का वडाअध्यक्ष मेहदी हुस्सेन समूह र त्यसै ठाउँका मुस्ताकिम आलाम समूहका बीचमा झडप भएको हो ।

बंगलादेश, भारत लगायतका देशबाट आएका मजदुहरु लकडाउनका बेला पनि इँटा भट्टामा रहेको र उनीहरुले कोरोना सङ्क्रमण फैलाउने भन्दै मुस्ताकिमको समूहले उद्योग बन्द गर्न माग गरेको थियो ।  

तर वडानम्बर ९ का वडाध्यक्ष मेहदी हुस्सेनको समूहले सञ्चालन गरेको उद्योग बन्द नभएपछि मुस्ताकिमले प्रहरी र पत्रकारलाई दुई दिनअघि खबर गरेको थियो । प्रहरी र पत्रकारलाई खबर गरेर आफूहरुको बेइज्जत गरेको र उद्योग बन्द गराउन खोजेको भन्दै हुस्सेन समूहले आक्रमण गरेको मुस्ताकिम मियाँले बताउनुभयो । 

वडाअध्यक्ष मेहदीले भने राहत हिनामिना गरेको र पीडितका नाममा आएको पैसा खाएको भनेर हल्ला गर्दै हिडेकाले सम्झाउने क्रममा झगडा भएको बताउनुभयो ।झडपका क्रममा दुवै पक्षका घाइते भएका छन् । झडपका क्रममा वडाअध्यक्ष मेहदी हुस्सेनका भतिजा नुर हुस्सेन र अमिल हुस्सेन घाइते भएका छन् ।

अर्को पक्षका भने मुस्ताकिम मियाँ,  सद्याम मियाँ, मुस्ताक मियाँ, इस्तियाक मियाँ  अर्मान मियाँ, हाजी रमजान, जियायुद्यिन मियाँ तथा समृधिन मियाँ घाइते भएका छन् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया