‘लकडाउन’मा दिग्दारी, चिन्ता र कुण्ठा व्यवस्थापन गर्न ध्यान दिउँ : मनोविश्लेषक

 चैत २४, २०७६ सोमबार १३:३४:१२ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - देश ‘लकडाउन’ भएको सोमबार १४ औं दिन पुगेको छ । कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गएको चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’मा एकान्तबास बस्नुपर्ने बाध्यता आफैँमा ‘ट्रमा’को अवस्था हो । यसअघि नभोगेको र नसोचेको तर कोरोना सङ्क्रमणको डर र त्रासले ‘लकडाउन’ भोग्नुपरेको छ ।

भूकम्प, भाइरसको सङ्क्रमण, युद्ध, आक्रमण र बलात्कारजस्ता अचानक आउने अनि भोग्नुपर्ने घटना कसैलाई पनि सहज हुँदैन । यस्तो अवस्थाको सामना गर्न र सहजै घुलमिल हुन गाह्रो हुन्छ । किनभने अनुकूल अवस्था नहुँदा परिस्थितिको सामना गर्न र त्यसैमा समाहित हुन कठिन हुन्छ । अहिले त्यस्तै भएको छ । स्कुल, कलेज, अफिस वा अरु दैनिक काम रोकिएका छन् । यस्ता काममा व्यस्त भइरहनेहरु ‘लकडाउन’पछि घर वा कोठामै सीमित हुनुपरेको छ । 

सरकारले घोषणा गरेको ‘लकडाउन’लाई पालना गर्नेहरु बाहिर ननिस्केको १४ दिन भइसकेको छ । मनोविश्लेषकले सामान्य अवस्थामा रमाइरहेकाहरुलाई घरमै सीमित हुनुपर्दा दिक्क लाग्ने, नमज्जा आउने, दुःखी हुने, रिस उठ्ने, छट्पटी हुनेजस्ता लक्षण देखिने र यसले मानसिक समस्या निम्ताउन सक्ने बताएका छन् । 
किन हुन्छ मानसिक समस्या

कोरोना सङ्क्रमण नयाँ रोग भएकोले विश्वकै नागरिकमा यसको चासो छ । डर, त्रास र चिन्ता सबैलाई छ । हरेक व्यक्तिले भोग्ने असहज परिवेशपछिको दृष्टिकोण सकारात्मक र नकारात्मक हुने मनोविश्लेषक वासु आचार्य बताउनुहुन्छ । ‘आआफ्नै दृष्टिकोणले मानसिक समस्यालाई निम्ताउन सक्छ,’ उहाँले भन्नुभयो, ‘यो बेला सङ्क्रमणलाई सामान्य र सहज रुपमा लिनेहरुमा ठूलो असर हुँदैन । तर मनगढन्ते विचार, खराब सोच र व्यवहार गर्नेहरुमा मानसिक समस्या देखिन सक्छ ।’ 

मनमा सकारात्मक र नकारात्मक भावना आएको कसरी थाहा पाउने ? 

समय असामान्य हुँदा सामान्य डर, त्रास सबैलाई हुन्छ । परिस्थितिअनुकूल घुलमिल गर्नसक्नेसँग मनोबल र आत्मविश्वास हुन्छ । तर जो व्यक्तिले सहज रुपमा सामना गर्न सक्दैन उसमा नकारात्मक विचार आउँछ । विचारले भावनामा असर पारिरहने र विभिन्न लक्षण देखिने मनोविश्लेषक आचार्य बताउनुहुन्छ । 

नकारात्मक विचारबाट देखिने लक्षणहरुः 
१) नरमाइलो हुने, २) उदासीनता, ३) खराब सोच र व्यवहार, ४) रिसाउने र झर्कने, ५) रुन मन लाग्ने, ६) छाती भारी हुने । 

समाधानका उपायहरु

मनोविश्लेषक आचार्यका अनुसार यस्तो बेला मनोपीडाका कारणहरु पहिचान गरी सजगता अपनाउन सके मानसिक समस्या हुँदैन । अहिले २४ सै घण्टा घरमै बस्नुपर्दा बुवाआमासँग छोराछोरीलाई, सासूससुरासँग बुहारीलाई, दाजुसँग भाइलाई या एकअर्कासँग असहज भइरहेको हुनसक्छ । आर्थिक व्यवस्थापनको समस्याले सताएको हुन सक्छ । आनन्दको अनुभव गर्न नसक्दा जटिल समस्या निम्तिने भएकोले सचेत रहन उहाँको सुझाव छ । 

‘विश्व स्वास्थ्य सङ्गठनले १४ दिनसम्म दिग्दारी लागेमा यसलाई डिप्रेसनको अवस्था भनेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले भोगेको ट्रमाले १, २ महिनापछि पनि मानसिक समस्या देखिन सक्छ ।’ अनावश्यक चिन्ता नलिन, लामो समय एक्लै नबस्न, हरेक समस्याको समाधान हुने भएकाले उपायहरु पहिल्याउन उहाँको सुझाव छ । उहाँका अनुसार मनोपीडा पागलपन होइन र यसलाई पागलपन भनेर बुझ्नु पनि हुँदैन । उहाँले मनोपीडाबारे नबुझेसम्म मुक्त हुन कठिनाइ हुनेतर्फ उत्तिकै सजग रहन आग्रह गर्नुभयो । 

मानसिक समस्याबाट मुक्त हुन मुख्य ५ उपाय अपनाउन सकिने मनोविश्लेषक आचार्यले बताउनुभयो । १) मनोपरामर्श लिने, २) पारिवारिक प्रेम बढाउने, ३) सामाजिक सद्भाव कायम गर्ने, ४) आफूले आफ्ना समस्याबारे जान्ने र व्यवस्थापन गर्ने र ५) जटिल समस्या भए औषधिको सेवन गर्ने ।

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया