कोरोना महामारी : भ्रमपूर्ण खबर पनि प्रकोपकै रुप

 चैत २५, २०७६ मंगलबार १०:२७:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – लकडाउन तथा व्यक्तिगत दुरी कायम गरिरहँदा पनि विश्वमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणका घटनाहरु बढिरहेका छन् । यो महामारीसँग जोडेर भ्रम फैलाउने विभिन्न खबर पनि बढिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस देखिए यता त्यससम्बन्धी मिथ्या र भ्रामक खबर प्रकोपकै रुपमा फैलिरहेको चेतावनी दिँदै आएको छ । भ्रमपूर्ण खबरहरुले महामारी फैलन सहयोग पुग्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता पनि व्यक्त गरेको छ । थुप्रै देशमा कोरोनाबाट बच्ने जानकारी भन्दै कैयौँ खबरहरु भाइरल भएका छन् ।

त्यसमध्ये केहीको वास्तविकता परीक्षण गरी बीबीसीले खबर प्रकाशन गरेको छ । बीबीसीले अफ्रिकीहरूमा खोपको परीक्षण कतै नभएको भन्दै यससम्बन्धी खबरमा कुनै सत्यता नभएको बताएको छ । पश्चिमाहरुले सुरक्षित छ वा छैन भन्दै जाँच्न अफ्रिकामा परीक्षण सुरु गरेको खबर भाइरल भइरहेको छ ।

यस्तै सामाजिक सञ्जालमा छालाको रङ्ग भएकाहरुका कोरोना प्रतिरोधी क्षमता हुने दाबी गरिएको खबर भाइरल भइरहेको छ । त्यसमा पनि कुनै सत्यता नपाइएको बीबीसीले जनाएको छ ।

विभिन्न देशमा कालो चिया पिएमा कोरोना नलाग्ने सुझाव पनि भाइरल भइरहेका छन् तर स्वस्थ हुन शरीरमा पानीको मात्रा पर्याप्त हुनु महत्त्वपूर्ण भए पनि कालो चिया पिउँदा दाबी गरिएको जस्तो कोरोना भाइरसलाई निको नपार्ने बीबीसीले जनाएको छ । विभिन्न देशमा मरिच पानीले कोरोना निको पार्ने सुझाव पनि आइरहेकोले त्यसमा पनि कुनै वैज्ञानिक आधार भेटिएको छैन ।

नाइजेरियामा नै एक धर्म प्रचारकले मरिचको उमालेको झोल पिउँदा त्यसले कोरोना भाइरसलाई निको बनाउने दाबी गरेका थिए । कोरोना भाइरस निको पार्न सक्ने दाबी गर्दै आएका धर्म प्रचारक पनि मिथ्या खबरका स्रोत बनेकाे बीबीसीले जनाएको छ ।

यस्तै कोरोनाभाइरसबाट जोगिन दाह्री काट्नुपर्छ भन्ने सुझाव पनि मिथ्या भएको पाइएको छ । यस्तै फाइभ जी प्रविधिले कोरोना भाइरसको सङ्क्रमण सार्न भूमिका खेल्छ भन्ने दाबी गरिएका प्रचारहरूको वैज्ञानिक समुदायले भर्त्सना गरिरहेका छन् ।

संसारभरिका वैज्ञानिकहरूले सम्भावित खोपबारे अध्ययन गरिरहेका छन् र अहिलेसम्मको अपेक्षा अर्को वर्षको मध्यभन्दा अघि कोरोनाविरुद्धको खोप तयार नहुने बीबीसीले जनाएको छ । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया