कर्णाली र गुरुकुलकाे नाटक प्रदर्शन गर्दै 'क्वरेण्टीन अभियान नाट्य उत्सव' काे समापन

 चैत २९, २०७६ शनिबार २०:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भर्चुअल थिएटर फेस्टिभल ‘क्वरेण्टीन अभियान नाट्य उत्सव–२०७६’ को १६ औँ दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन भएको छ ।

कोभिड–१९ सङ्क्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वरेण्टीनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो । नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम शनिबारदेखि समापन भए पनि भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सवका निर्देशक केदार श्रेष्ठले बताउनुभयो ।

शनिबार कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’ को भिडियो प्रदर्शन भएको छ । हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारहरुको अभिनय छ । विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्कालगायतको अभिनय देख्न सकिन्छ । 

त्यस्तै शनिबार नै आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’ को भिडियो प्रदर्शन भएको छ । तत्कालीन गुरुकुलका धेरैजसो कलाकारहरू रहेको नाटकले बाल्यकालीन समयमा पुर्‍याउँछ । गुरुकुलका धेरैजसो कलाकारहरू बालबालिकाको भूमिकामा छन् । नाटक नर्वेका रङ्गकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन् ।  

तस्बिर : स्ट्रीट नेपाल 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया