५२ जिल्लामा कोरोना परीक्षण, र्‍यापिड टेस्टमा 'पाेजेटिभ' देखिए पनि 'पीसीआर'पछि मात्रै काेराेना भए वा नभएकाे पुष्टि हुने

 वैशाख २, २०७७ मंगलबार ७:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ५२ जिल्लामा कोरोना भाइरस (कोभिड १९) को परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिनुभयो ।

अहिले पीसीआरबाट देशभरिमा ११ ठाउँमा परीक्षण भइरहेको छ । बाँकी २५ जिल्लामा पनि चाँडै नै परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९ सय ८२ जनाको परीक्षण गरिएको छ ।

साेमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड १९ को सङ्क्रमण देखिएको छ । दुवै सङ्क्रमितको अनुसन्धान र 'कन्ट्याक ट्रेसिङ' गर्ने कार्य सुरु भइसकेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच कोरोनाको द्रूत परीक्षण अर्थात् आरडिटीमा पोजेटिभ आएको बाग्लुङ जिल्लाकाे काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

काठमाण्डौ पेप्सिकोलाको सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा आरडिटी गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । तर यो टेस्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हुँदैन । पीसीआरपछि मात्र थाहा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार र्‍यापिड टेस्ट किटमार्फत भएको परीक्षणको नतिजालाई नै अन्तिम मान्न सकिँदैन । कोरोना भाइरसको सङ्क्रमण भए वा नभएकोबारे पीसीआर विधिमार्फत गरिने परीक्षण नै निर्णायक हुनेछ ।

कतिपय अवस्थामा र्‍यापिड टेस्ट किटमा नेगेटिभ देखिए पीसीआर विधिमा पोजेटिभ देखिन्छ अनि र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पीसीआरमा नेगेटिभ देखिने सम्भावना पनि रहन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्ताेलाले पनि र्‍यापिड टेस्ट किटमार्फत आएको नतिजालाई निश्चित गर्न पीसीआर विधिमार्फत अनिवार्य परीक्षण गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया