अमेरिकामा दश वर्ष यताकै शक्तिशाली आँधी, ३० जनाभन्दा बढीको ज्यान गयो

 वैशाख २, २०७७ मंगलबार १४:४९:१० | रासस
unn.prixa.net

काठमाण्डौ - अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली आँधीका कारण ३० जनाभन्दा बढीको ज्यान गएको छ ।

 आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारबिहीन भएका छन् । आँधीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोराना भाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको ज्यान गइसकेको छ । दक्षिणी क्यारोलाइना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको ज्यान गएको छ ।

 टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको ज्यान गएको जनाएका छन् । अर्कान्सस र उत्तरी क्यारोलाइना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको ज्यान गएको आशंका गरिएको छ । 

दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।  

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताउनुभयो । उहाँले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताउनुभयो । 

जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामविहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताउनुभयो । ‘अब यी मानिससँग आफ्नो भन्ने केही छैन, सबै गुम्यो ।’

यो आँधी आइतबारदेखि सुरु भएको हो । अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको‘सामाजिक दूरी’सम्बन्धी नियम पनि हटाइदिनु भएको छ । 

राज्यका अस्थायी आश्रयस्थलहरुमा मानिसहरु मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन् । आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ । 

टेनिसी उपत्यकामा सप्ताहान्तमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया