सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै चितवन प्रशासन
वैशाख ६, २०७७ शनिबार ११:१०:१९
|
रासस
चितवन - गएको चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान सुरु गरेको छ ।
नेपाल आएर दुई दिन काठमाण्डौको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए । राप्ती नगरपालिका–८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो । जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको भट्टराईले जानकारी दिनुभयो । उनीहरुको परिवार ठूलो भएकाले सबैको सङ्ख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो ।
उहाँले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने जानकारी दिनुभयो । उनीहरुको बुधबार द्रूत परीक्षण (आरडीटी) गर्दा शङ्कास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो ।
बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो ।
पुनःपरीक्षणका क्रममा दुवै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमित दुबै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताउनुभयो ।
यसैबीच जिल्लामा हालसम्म ४०५ जनाको द्रूत परीक्षण (आरडीटी) गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । होम र सार्वजनिक क्वरेण्टीनमा रहेकाको परीक्षण गर्ने कामलाई तीव्रता दिइएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । जिल्लामा आरडीटीलाई तीव्रता दिनका लागि थप किट मगाइएको उहाँले जानकारी दिनुभयो ।
अन्तिम अपडेट: कात्तिक २९, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।