भक्तपुरको गठ्ठाघरदेखि जगातीसम्म निःशुल्क खाना ‘स्टेशन’, दैनिक सयौँलाई खाना खुवाइँदै

 बैशाख ७, २०७७ आइतबार १३:४६:४२ | रमेश गिरी

भक्तपुर – हिँडेरै सिन्धुली जान लाग्नुभएका रामप्रसाद कार्कीले आज पेटभरी खाना खानुभयो । हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आज घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उहाँसँगै रहनुभएका एक सय ५० जना अन्य बटुवा र अन्य ५० जना गरी दुई सय जनाले खाना खाएका छन् ।

आजबाट जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाको सहयोग एवं नेतृत्वमा ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ गठ्ठाघरका सञचालक वसन्त लामा, सुनिल बज्राचार्य र मानवीय आस्था नेपालको समन्वयमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको हो ।

साँझ गाडीमा हालेर घर फर्काउने गरी पैदलयात्रुलाई रोकेको प्रहरीले शनिबार घर पठाउन नसकेपछि भोकै रहेका उनीहरुलाई आज पहिलो दिन बिहान ११ बजे एकैसाथ खाना खुवाएको नागरिक कम्युनिटि टिचिङ्ग अस्पतालका सञ्चालक समेत रहनुभएका कासिछ्वाले जानकारी दिनुभयो । ‘माननीय महेश बस्नेतसँग पैदलयात्रुलाई खाना खुवाउनेबारे छलफल भयो, त्यही अनुरुप आजबाट खाना खुवाउन सुरु गरेका छौँ’, अध्यक्ष कासिछ्वाले भन्नुभयो, ‘आजदेखि १५ गतेको लकडाउनसम्म गठ्ठाघरमा दिउँसो १ बजेसम्म पैदल यात्री, सडक मानव, अस्पतालका बिरामी कुरुवादेखि भोकै बसेका यहाँ आउने जोसुकैलाई हामी निःशुल्क खाना खुवाउँछौ ।’ भक्तपुरमा कोही पनि भोकै नपरुन् भन्ने उद्देश्यले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको समन्वय र विभिन्न निकायको सहयोगमा निःशुल्क खाना खुवाउने अभियान सुरु भएको छ ।

जुनसुकै ठाउँबाट भोकै आउने व्यक्तिलाई गठ्ठाघरमा भात, दाल, तरकारी र अचार खुवाउने जानकारी दिँदै कासिछ्वाले भन्नुभयो, ’खानेकुरा नभएर कोही पनि भोकै बस्नुपर्दैन, पैदल यात्रु कोही भोकै हिँड्नुपर्दैन, हामीले आजदेखि निःशुल्क खाना खुवाउन सुरु गरेको छौँ, यहाँ आइदिनुस् ।’ नजिकै रहेको नागरिक अस्पताल, नेपाल कोरिया नगरपालिका मैत्री अस्पताल, मध्यपुर अस्पताल लगायतमा रहेका बिरामी कुरुवालाई पनि खाना खान आउन आह्वान गरिएको छ ।

सडकमा बसेका, दैनिक ज्यालादारी गरी खानुपर्ने, अति विपन्न मानिस भोकै छन् भने खाना खान आउन आह्वान गरिएको उहाँले बताउनुभयो । त्यसैगरी सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा भक्तपुरको जगातीमा शनिबारदेखि नै पैदल यात्रु, सडक मानव, मजदुर एवं विपन्न वर्गलाई खाना खुवाउन सुरु गरिएको छ ।

काठमाण्डौबाट पूर्व भएर पैदल जाने यात्रुहरुलाई अरनिको राजमार्ग खण्ड अन्तर्गत जगाती चोकमा सिपाडोल क्षेत्र परोपकार समाजले मानवीय आस्था नेपालको सहकार्यमा लकडाउनभरि खाना खुवाउने व्यवस्था गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, ‘हिँडेर आएका पैदल यात्रुलाई प्रहरी वृत्त जगाती अगाडि सडकमा रोकेर खाना खुवाउने, दिउँसो खाजा खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारीसाधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौँ, अब हरेकदिन यो सडकमा कोही भोकै हिँड्नुपर्दैन ।’

सिपाडोल परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यका अनुसार प्रहरीसँगको समन्वयमा थर्मल गनबाट पैदलयात्रीको तापक्रम परीक्षण गरी, स्यानिटाइजर दिएर खाना खुवाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी मानवीय आस्था नेपालले मानव सेवा आश्रमसँगको समन्वयमा गएको २० दिनदेखि दैनिक सडक मानव, पार्टी, मन्दिर र गल्लीमा बस्दै आएका असहाय मानिसहरुलाई दैनिक उनीहरु बसेकै ठाउँमा पुगेर खाना खुवाउँदै आएको छ । मानवीय आस्था नेपालको समन्वयमा जिल्ला खेलकुद विकास समितिको सहयोगमा महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीलाई ज्वरो नाप्ने तीन थान थर्मल गन र ३८ थान टल्किने ज्याकेट (फ्लोर सेन्ट) सांसद महेश बस्नेतको पहलमा हस्तान्तरण गरिएको छ ।

त्यसैगरी भक्तपुरको पलाँसेमा कपडा बैंक स्थापना गरिने भएको छ । दाताले सहयोग गरेको लत्ता कपडा, जुत्ता गरिब, असहाय र समस्या परेका पैदल यात्रुले निःशुल्क लैजाने गरी कपडा बैंक स्थापना गर्न लागेको सूर्यविनायक नगरपालिका ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।

लकडाउन सुरु भएपछि मानवीय आस्था नेपालले भक्तपुरका चार वटै नगरपालिकामा गरिब, असहाय, मजदुर, अति विपन्न परिवारका लागि खाद्यान्नहरु वितरण गर्दै आएको छ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार भक्तपुरमा कोही पनि भोकै बस्नु नपरोस् भनेर राहत वितरण र विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने स्टेशन सञ्चालन गरेको जानकारी दिनुभयो ।

अलपत्रलाई भोकै हुन नदिने बताउँदै उहाँले सरकारले कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने वासको व्यवस्था गर्ने बताउनुभयो । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो, ‘प्रधानमन्त्रीको जनभावना र निर्देशन अनुसार हामीले अभियान सुरु गरेका छौँ । काठमाण्डौ उपत्यकाभित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ, कोही भोकै हुनुहुन्छ भने मेरो फेसबुकमा १० जनाको नम्बर छोडेको छु, ती नम्बरमा फोन गरेर हामीलाई खबर गर्नुस्, अब हामी कसैलाई भोकै र अलपत्र पर्न दिने छैनौँ ।’ (तस्बिर: सामाजिक सञ्जाल )

अन्तिम अपडेट: बैशाख १४, २०८१

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया