‘कोरोना सङ्क्रमितमध्ये ९९ प्रतिशतभन्दा धेरै मानिस निको हुन्छन्’

 वैशाख ८, २०७७ सोमबार ९:२३:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरुमा सामान्य किसिमको लक्षणमात्र देखिएको, आत्मबल बलियो भएको तथा उपचारको व्यवस्था राम्रो भएको बताइएको छ । 

कतिपयले नेपालको हावापानी र मानिसमा प्रतिरक्षा प्रणाली बलियो भएकोले पनि निको हुने गरेको दाबी गरेका छन् । तर कोरोना सङ्क्रमणको महामारी फैलिएका देशहरुमा पनि निको हुने क्रम उच्च छ ।  

कतिपयमा सामान्य लक्षणमात्र देखिँदा अस्पताल नजाने, कतिपय देशले निको भएकाहरुको तथ्याङ्क अध्यावधिक नगर्नेजस्ता कारणले कति मानिस कोरोनाबाट निको भए भन्ने यकिन गर्न कठिन हुन्छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले गणितको प्रयोग गरेर तयार गरेको नमुना अनुसार ९९ देखि ९९ दशमलव ५५ प्रतिशत मानिस निको हुने गरेको अनुमान छ । 

कोरोनाबारेको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार २४ लाखभन्दा धेरै सङ्क्रमितमध्ये ६ लाखभन्दा धेरै मानिस निको भएका छन् । तर यो तथ्याङ्क पहिचान भएकाहरुको हो । थुप्रै बिरामी सामान्य लक्षणमात्र देखिएर अस्पताल नगइकनै निको हुने गरेको जोन्स हप्किन्स विश्वविद्यालयको अध्ययनले देखाएको छ । 

याे पनि पढ्नुहाेस्

कोरोना सङ्क्रमण भएका व्यक्ति औसतमा दुई हप्तामा निको हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । चिनियाँ तथ्याङ्कका आधारमा विश्व स्वास्थ्य सङ्गठनले सामान्य लक्षण भएका बिरामीहरू छिटो र पूर्ण निको हुनसक्ने बताएको हो । ज्वरो एक हप्तामा ठिक हुनसक्छ भने खोकी केही थप समय रहने सङ्गठनले जनाएको छ । 

कोरोनाका धेरैजसो बिरामीलाई खोकी, ज्वरो, जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने जस्ता मुख्य लक्षणमात्र देखा पर्छन् । सुरुमा सुख्खा खोकी र पछि खकारसहितको खोकी पनि लाग्ने गरेको सङ्गठनले जनाएको छ । यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

तर कतिपयमा भने रोग निकै गम्भीर बन्न सक्छ । सङ्क्रमण भएको सातदेखि १० दिनमा यस्तो हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सास फेर्न गाह्रो हुन थाल्ने अनि फोक्सो सुन्निएर जटिलता आउन सक्छ । केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुनसक्ने र यस्तो समस्याबाट निको हुन दुईदेखि आठ हप्ता लाग्न सक्ने चिनियाँ तथ्याङ्कले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमानमा प्रत्येक २० जनामध्ये एक जनालाई सघन उपचार कक्ष (आईसीयू) कक्षको उपचारको खाँचो पर्न सक्छ ।   

आईसीयूमा रहेका बिरामीलाई पूर्णरुपमा निको हुन १२ देखि १८ महिना लाग्ने अनुमान छ । लामो समय अस्पतालमा बस्दा तौल घट्छ । मानिस कमजोर हुन्छ अनि मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ । कतिलाई हिँडडुल गर्न फिजियोथेरापी आवश्यक पर्न सक्छ । 

कोरोना सङ्क्रमण भएका व्यक्तिमा दीर्घकालीन असर पर्छ वा पर्दैन भन्ने अनुमान गर्न लामो समयको तथ्याङ्क छैन तर मिल्दाजुल्दा अरु अवस्थासँग तुलना गर्दा फोक्सोमा खराबी भइ श्वासप्रश्वाससम्बन्धी समस्या रहिरहन सक्ने विभिन्न विज्ञहरुले बताएको बीबीसीले जनाएको छ । 

भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरूलाई निको भएपछि पनि गहिरो मानसिक आघात परेको हुनसक्ने खतरा हुुन्छ । सामान्य समस्यामात्र बेहोरेका बिरामीलाई पनि लामो समयसम्म थकान भइरहन सक्छ । 

निको भइसकेपछि पनि दोहोरिएर कोरोना भाइरसको सङ्क्रमण हुने चर्चा धेरै भए पनि यसको पर्याप्त प्रमाण नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । दोहोरिएर देखिएको मुख्य कारण अघिल्ला परीक्षणमा गल्ती भएको हुन सक्ने अनुमान छ । तर यो विषयमा अध्ययन भइरहेको सङ्गठनले जनाएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया