‘लकडाउन’ मा पनि राेकिएन त्रिभुवन विमानस्थलको धावनमार्ग निर्माणको काम

 वैशाख ९, २०७७ मंगलबार १३:४२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन । 

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम बढेपछि सरकारले घोषणा गरेको लकडाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । तीन हजार ५० मिटर लम्बाइ रहेको विमानस्थलको धावनमार्ग थप तीन सय मिटर बढाउने गरी काम भइरहेको छ । 

धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको बताउनुभयो । यसैगरी विमानस्थलको ‘डिपार्टिङ वे’को काम पनि भइरहेको छ । जसका कारण आकाशमा धेरै समय ‘होल्ड’ हुने खालको ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने मन्त्री भट्टराईको दाबी छ । 

विमानस्थल विस्तारको काम भइरहँदा प्रयाप्त सुरक्षा सतर्कता अपनाइएको समेत मन्त्री भट्टराईले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठक र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय अनुसार नै काम सुरु भएको उहाँले बताउनुभयो ।

कामदारहरुलाई मास्क (मुखावरण) र स्यानिटाइजर प्रयोग गर्न दिइएको छ । विमानस्थलभित्रै क्याम्प बनाएर खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । निर्माण सामग्री ढुवानी हुँदा समेत कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणमा ध्यान दिइएको मन्त्री भट्टराईको भनाइ छ । 

अहिलेसम्म विमानस्थलमा नयाँ प्रस्थान हलको निर्माण सम्पन्न भइसकेको छ । एक हजार पाँच सय यात्रु क्षमताको प्रस्थान हल निर्माण भएको हो । यस्तै हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले लकडाउनका कारण काम गर्न सहज भएको बताउनुभयो । अन्य समयमा विमानस्थल बन्द गरी रातिको समयमा काम गर्नुपर्ने बाध्यता भए पनि लकडाउनका कारण सम्पूर्ण उडान बन्द भएकाले दिउँसोसमेत काम गर्ने वातावरण बनेको उहाँले बताउनुभयो ।

निर्माण सामग्री ढुवानीमा केही समस्या भए पनि कामदारहरुको सम्पूर्ण स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी काम भइरहेको उहाँले बताउनुभयो । प्रत्येक दिन तापक्रम (ज्वरो नाप्ने), स्यानिटाइजर र मास्क प्रयोग गरी तथा सामाजिक दुरी कायम गरी निर्माणको काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । 

आयोजनाको काम सिभिलतर्फ ७४ प्रतिशत सम्पन्न भएको छ । विसं २०७७ असार १० गतेभित्र सम्पन्न गर्ने गरी २०७५ साल पुस १८ गते निर्माण सम्झौता भए पनि सम्झौता मितिअघि नै काम पूरा हुने निर्माण कम्पनीले जनाएको छ । अबको दुई हप्ताभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण कम्पनी कालिका टुण्डी जेभीको सब कन्ट्रयक्टर ए वान विल्डर्स प्रालीले बताएको छ । 

सिभिलतर्फको काम वैशाखभित्रै सम्पन्न भए पनि इलेक्ट्रिकतर्फको काममा केही ढिलाइ हुन सक्ने देखिएको छ । इलेक्ट्रिकतर्फका सम्पूर्ण सामान बाहिरबाट ल्याउनु पर्ने भएकाले कोरोनाका कारण हवाई सेवा सञ्चालनमा नआए केही समय लाग्ने छ । सामान ढुवानीको अवस्था सहज भए वैशाखभित्र नै काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । अहिले विमानस्थलमा ९२ जना कामदारले काम गरिरहेका छन् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया