भक्तपुरमा औषधिमा कालोबजारी, बिरामीलाई अभद्र व्यवहार

 बैशाख १०, २०७७ बुधबार १४:३६:२९ | रमेश गिरी
unn.prixa.net

भक्तपुर - कोरोना भाइरसको कारण देशभर लकडाउन भएको बेला औषधि व्यवसायीले औषधिजन्य सामग्रीमा कालोबजारी गरेका छन् । एकातिर औषधि पसलले कालोबजारी गर्ने र अर्कोतर्फ वडा वडामा रहेका स्वास्थ्य चौकीहरुले सामान्य स्वास्थ्य सेवा समेत नदिई अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १० को चित्तपोल स्वाथ्य चौकीले स्थानीयवासीलाई सेवा नदिई अभद्र व्यवहार गरेको छ । स्वास्थ्य चौकीमा उच्च रक्तचाप जाँचको लागि जानुभएका मुरारी नगरकोटीलाई स्वास्थ्यकर्मीले गेटबाटै फर्काइदिएका छन् । 

ढोका बन्द गरेर भित्र बसेका स्वास्थ्यकर्मीले बिरामी नजाँची फर्काउने गरेको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘टाउको निकै दुखेर रक्तचाप परीक्षण गराउन गएँ । स्वास्थ्यकर्मीहरु ढोका बन्द गरेर बसेका थिए । रक्तचाप परीक्षण गर्न मिल्दैन भन्दै बाहिरैबाट फर्काइदिए ।’

ज्वरो आएपछि औषधि लिन त्यही स्वास्थ्यचौकी जानुभएका लक्ष्मीभक्त खाताखोले स्वास्थ्यकर्मीले अभद्र व्यवहार गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘ज्वरो आएकोजस्तो लाग्यो । चेक गरेर औषधि ल्याउन चित्तपोल स्वास्थ्य चौकी गएँ । ढोका बन्द थियो । भित्र स्वास्थ्यकर्मीहरुले आफैँलाई थर्मल गनले ज्वरो नापेर जिस्किएर बसेका थिए । मैले ज्वरो नाप्नुपर्यो, औषधि दिनुपर्यो भन्दा सिटामोल भित्रबाट बाहिर फ्याकिदिए । ज्वरो नापेनन् ।’ 

स्वास्थ्यकर्मीले छोइन्छ भनेर औषधि बाहिर फ्याकिदिएको भन्दै स्वास्थ्यकर्मीहरुबाटै अभद्र व्यवहार हुने र ज्वरोसमेत मापन नहुने भएपछि यस्ता स्वास्थ्य चौकीको अर्थ नभएको उहाँको भनाइ छ । 

त्यसो त जिल्लाका सबै नगरपालिकाले प्रत्येक वडामा रहेको स्वास्थ्य चौकीमा थर्मल गन, पीपीई र औषधिको व्यवस्था गरेको छ । तर अधिकांश स्वास्थ्य चौकी भने दिनमा चारघण्टा खुल्ने र आएका बिरामीको परीक्षण तथा परामर्श नदिने गरेको गुनासो आएको छ । 

त्यस्तै जिल्लाका कतिपय अस्पतालमा सञ्चालित फार्मेसीदेखि औषधि पसल र क्लिनिकहरुले औषधिको मनोमानी मूल्य लिएको गुनासो पनि धेरै आएका छन् । तर अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् । 

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लोकन्थलीस्थित समिट अस्पतालको फार्मेसीलाई कारबाही गर्यो । अनुगमनको क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि फार्मेसीलाई गएको शुक्रबार विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । 

समिट अस्पतालको फार्मेसी एउटा उदाहरण मात्रै हो । यस्ता धेरै फार्मेसीहरुले औषधिमा कालोबजारी गरेपनि सम्बन्धित निकायलाई कुनै चासो नभएको उपभोक्ता बताउँछन् ।

अन्तिम अपडेट: चैत २, २०८०

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया