अप्रिल २४ : खाडी र मलेसियाको कोरोना अपडेट

 बैशाख १२, २०७७ शुक्रबार ९:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

(नाेट : खाडीका देश र मलेसियाको पछिल्लो कोरोना अपडेट दिनमा दुई पटक हुन्छ ।)

काठमाण्डाै – खाडीका देश र मलेसियामा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४२ हजार नाघेकाे छ । यी देशहरुमा ९४ जना नेपाली नागिरकमा पनि काेराेना सङ्क्रमण देखिएकाे छ ।  जसमध्ये ८८ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ६ जना निकाे भएर काममा फिरेका छन् ।

अहिलेसम्म बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा २९ र मलेसियामा १ जना गरी जम्मा ९४ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् । 

यूएईमा एक नेपाली महिलामा मृत्युकाे चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना  हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन । त्यसैले कोरोना सङ्क्रमति नेपालीको जम्मा सङ्ख्यामा मृतक महिलालाई जोडिएको छैन ।

यी देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ३८५ पुगेको छ । ९ हजार ७४१ जना उपचार पछि निको भएका छन् भने ३२ हजार ३३१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले  त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता  बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय १० देशका २७ लाख १८ हजार ६९९ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख ९० हजार ६५४ जनाको ज्यान गएको छ भने ७ लाख ४५ हजार ६२० जना निको भएका छन् ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ । काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन पर्ने कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ ।

क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवलब्ध भए पनि, नभए पनि आधरभूत तलब सुविधा पाउनेछन् । करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्ने नियम छ ।

सङ्क्रमित सङ्ख्या : ७ हजार ७६४ ज‍ना । 

निको भएर घर फिरेकाहरु : ७ सय ५० जना ।

अस्पतालमा उपचाररत : ७ हजार ४ जना ।

मृतकको सँख्या : १० जना ।

कतारले सङ्क्रमितको राष्ट्रियता नछुट्टएकाले कति नेपाली सङ्क्रमित छन् या छैनन् दूतावासलाई जानकारी छैन् । 

दूतावासकाे सल्लाह:

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् । 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् । 

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ । 

भिसाकाे म्याद सकिएमा

कतारको श्रम मन्त्रालयका अनुसार, बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने व्यवस्था गरेको छ ।

– नेपाल फर्कने टिकट काट्नुभएको छ, तर सरकारले यात्रामा रोक लगाएको कारण देश फर्कन पाउनुभएन भने एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुहोस् । आफ्नो समस्या बताउनोस् । अहिले धेरै एअरलाइन्स कम्पनीले बिना शुल्क यात्रा मिति सारिदिन्छन् । 

– यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension  बाट थाहा पाउन सकिन्छ ।

– कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्नुहोस् ।

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । त्यसैले पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् । 

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : ८ हजार ७ सय ५६ (११ जना नेपालीसहित ।)

निको भएर घर फिरेकाहरु : १६ सय ३७ जना (दुई नेपालीसिहत) .

अस्पतालमा उपचाररत : ७ हजार ६३ जना ।(९ नेपालीसहित)

मृतकको सँख्या : ५६ जना ।  

एक नेपाली महिलामा मृत्युकाे चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना  हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा कोरोनाको सङक्रमण बढेपछि रोकथामका लागि लगाइएको कर्फ्युक‍ो समय लम्बिएको छ । २४ गतेदेखि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यु लागू भएको छ ।

स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्कनुहाेस् । साउदीको रियाद क्षेत्रमा पनि दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लाग्ने भएकाले साउदीमा हुने सबै नेपालीलाई सरकारले लागू गरेका नियम पूर्ण रुपमा पालना गर्नुहाेस् ।

सङ्क्रमित सङ्ख्या : १३ हजार ९ सय ३० जना (४ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु :  १९ सय २५ जना (तीन जना नेपालीसहित) ।

अस्पतालमा उपचाररत : ११ हजार ८८४ जना । (१ नेपालीसहित)

मृतकको सँख्या : १२१ जना ।

दूतावासकाे सल्लाह:

सरकारले कोरोना भाइरस परीक्षणको लागि (Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोललाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् ।  

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

साउदी सरकारले सोमबारदेखि २१ दिन रात्रीकालिन करफ्यु लगाएको छ । त्यसैले सुरक्षित रहनुहोस् । कर्फ्युको पालना गर्नुहोस् । नत्र कारबाही पनि हुन्छ । 

कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् ।

 अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ । 

भिसाकाे म्याद सकिएमा

साउदीले पारिवारिक, पर्यटक वा व्यवसायिक भिसामा साउदी पुगेका तर कोरोना भाइरसको कारण भिसाको अवधिभित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएकाहरुको जरिबाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने भएको छ । 

– साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो अवधि उडान नखुलेसम्म जारी रहने छ ।

– साउदी अरेबियाले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रिइन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सिल गरी लाग्नसक्ने जारिबानाबाट बच्न अनुरोध गरेको छ । 

– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

बहराइन सरकारले कोरोना रोकथामका लागि सङक्रमितले क्वारेण्टीनको अवज्ञा गरेमा तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ ।

सङ्क्रमित सङ्ख्या : २ हजार २१७ जना । (४९ जना नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : १ हजार ८२ जना ।

अस्पतालमा उपचाररत : ११ सय २७ जना।

मृतकको सङ्ख्या : ८ जना ।

दूतावासकाे सल्लाह: 

अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । 

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।

कुवेत सरकारले कोरोना सङक्रमण रोकथामका लागि रातीको समयमा अनिश्चितकालिन कर्फ्यु लगाएको छ । कर्फ्यु नमानेमा जेल सजाय र १० हजार कुवेती दिनार जरिवाना हुन्छ । त्यसैले सुरक्षित रहन र कर्फ्युको पालना गर्न दूतावासले अनुरोध गरेको छ । 

सङ्क्रमित सङ्ख्या : २ हजार ३९९ जना ।  (२९ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ४ सय ९८ जना ।

अस्पतालमा उपचाररत : १८ सय ८७ जना ।

मृतकको सङ्ख्या : १४ जना ।

दूतावासकाे सल्लाह:

सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् । घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

भिसाकाे म्याद सकिएमा

कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वत: थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।

सङ्क्रमित सङ्ख्या : १७ सय १६ जना ।

निको भएर घर फिरेकाहरु : ३०७ जना ।

अस्पतालमा उपचाररत : १४ सय जना ।

मृतकको सँख्या : ९ जना ।

ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।

दूतावासकाे सल्लाह:

ओमानमा हुने विदेशी नागरिकलाई कोरोना सङ्क्रमण देखिएमा ओमानकै नागरिक सरह नि:शुल्क उपचार हुनेछ । 

यही चैत २८ गतेदेखि वैशाख १२ गतेसम्म ओमानको मस्कट प्रशासकीय क्षेत्रमा लकडाउन भएकाले यो अवधिमा अत्यावश्यक बाहेक बाहिर ननिस्कन र सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह छ ।

१ अप्रिलदेखि अर्को सूचना जारी नहुँदासम्म ओमानको हम्रिया, दारसाइट, रूवी, बादि कविर लगायत क्षेत्रमा हुनेले अत्यावश्यक सामान किन्न बाहेक बाहिर ननिस्कनुहाेस् ।     

 यी क्षेत्रमा अत्यावश्यक सामान किन्न निस्कंदा पनि पदैल नहिँड्न स्थानीय प्रहरीले सूचना जारी गरेको छ ।

काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।  ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

भिसाकाे म्याद सकिएमा

ओमानमा रहेका र घरबिदामा गएर भिसा सकिएको भएमा रोयल ओमान पोलिस ROP मार्फत अनलाइन आवेदन दिन सकिन्छ । त्यसैले भिसा सकिएमा यही वेवसाइटमार्फत आवदेन दिन दूतावासले आग्रह गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन मलेसियाले लकडाउनकाे अवधि थपेकाे छ । लकडाउनको समय दुई हप्ता थप गर्दै १२ मेसम्म लकडाउन हुने घोषणा गरेको हो । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

सङ्क्रमित सङ्ख्या :  ५ हजार ६ सय ३ जना । 

निको भएर घर फिरेकाहरु : ३५ सय ४२ जना । (एक जना नेपालीसहित)

अस्पतालमा उपचाररत : १९ सय ६६ जना ।

मृतकको सङ्ख्या : ९५ जना ।

दूतावासकाे सल्लाह:

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।

कोरोना रोकथामका लागि मलेसियाले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झैझगडा नगरी संयमित भएर काम गर्न, नभए होम व्वारेण्टीनमा बस्न पनि दूतावासले भनेको छ ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।

भिसाकाे म्याद सकिएमा

लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा उचित व्यवस्था गर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया