भोजपुरका कोरोना सङ्क्रमितको यात्रा विवरण : मावली, ससुराली हुँदै घर, भलिबल मैदानदेखि मलामीसम्म

 बैशाख १२, २०७७ शुक्रबार १८:१:२५ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरका एक युवकमा कोरोनासङ्क्रमण भएको पुष्टि भएसँगै जिल्लामा त्रास फैलिएको छ । 

हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका ती युवक कोरोना सङ्क्रमण पुष्टि हुुुनुअघि मावली र ससुराली हुँदै घर आएको खुलेको छ । साउदी अरेबियाबाट फागुन ३० गते हिमालयन एयरलाइन्स मार्फत उनी काठमाण्डौ ओर्लिएका प्रहरीले जनाएको छ । 

प्रहरीले गरेको ट्रेसिङ अनुसार उनी नहडा भने ठाउँका साथीसँग काठमाण्डौबाट रात्री बसमा सुनसरीको झुम्कासम्म आएका थिए । त्यसपछि डेरा गरी बसेकी श्रीमतीलाई भेटन सुनसरीकै चतरामा आएको र  चतराबाट बसमा चढेर परिवारसहित मावली घर धरान गएर बसेको पाइएको छ । त्यसै क्रममा धरान बजारमा समेत सामान किनमेल गरेको युवकका आफन्तले बताएका छन् । 

धरानमा रहेको मावल, चतराको डेरा र इटहरीका साथीहसंँग घुमेका युवक ८ दिनसम्म सुनसरीमै रहेका पाइएको छ । सुनसरीपछि उनी चैत ९ गते उदयपुरको वेलका नगरपालिकाको मैनामैनीमा रहेको ससुराली गएको पाइएको छ । 

२ दिन ससुराली बसेका उनी ११ गते बिहान स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशीकोे चुहारसम्म गएका थिए । चुहारबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका–९ हसनपुरको बार्ताङ्गसम्म आएका थिए । त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घन्टा बसेपछि अर्को मोटरसाइकलमा घर होम्ताङ्ग पुगेको खुलेको छ । 

उनी भोजपुर तरेपछि स्थानियवासीले गाउँपालिकाको हटलाइन नम्बरमा खबर गरेको थिए । घर पुगेपछि उनी एकान्तबासमा नबसी साथीहरुसँग हिँड्डुल गरेको पाइएको छ । उनी गाउँमा भलिबल खेल्न र जंगलमा सिकार खेल्न गएका थिए ।

उनको सम्पर्कमा आएकाहरु धेरै भएको हुन सक्ने स्थानीय नारायाण निरौलाले बताउनुभयो । गाउँमा रहेका भलिबल खेल्ने सबै ठाउँ र गाउँमा एक शिक्षकको मृत्यु भएपछि मलामी समेत गएको स्थानीयले बताएका छन् ।

गाउँमा त्रास  

वैदेशिक रोजगारीबाट फर्किएका युवामा कोरोनासङ्क्रमण देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ । सङ्क्रमित युवा घरमाुभन्दा बढी गाउँमा हिँडेको पाइएपछि गाउँलेहरु त्रसित बनेका हुन । गाउँलाई सिल गरेर कोरोना परीक्षण गर्न स्थानीयले माग गरेका छन । 

गाउँमा उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पीसीआर गरिनपर्ने माग स्थानीयहरुको छ । हतुवागढी गाउँपालिकाले संयम र सतर्क रहन स्थानीयलाई अनुरोध गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गाउँपालिकाले उनको उपचार र उनीसँग नजिक भएका परिवार लगायत अन्यको यथाशीघ्र स्वास्थ्य परीक्षण गरिने व्यबस्था भैरहेको अध्यक्ष राईले बताउनुभयो । 

जिल्ला प्रशासनले के गर्दैछ?

जिल्लामै पहिलो पटक कोरान सङ्क्रमित भेटिएपछि जिल्ला प्रशासनले सुरक्षा थप कडा गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले कोरोना सङ्क्रमित गाउँपालिकाका सबै सीमा क्षेत्रमा मानिस आवतजावतमा पूर्ण रुपमा निषेध गरेको छ । साथै ती युवाको परिवार र नजिक रहेकाहरुका आरडीटी गरिने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो ।

जिल्लामा कोरोन सङ्क्रमित देखिएपछि केन्द्र तथा प्रदेश सरकारसँग स्वाब परीक्षणको किट, सर्जिकल मास्क, पीपीई लगायतको सामाग्रीसमेत माग गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया