ट्रम्पले भने– 'दैनिक पत्रकार सम्मेलन गर्नुको कुनै औचित्य छैन'

 बैशाख १४, २०७७ आइतबार १०:८:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर ह्वाइट हाउसमा हुँदै आएको दैनिक पत्रकार सम्मेलन बन्द गरेका छन् । ट्रम्पका सल्लाहकारले भने दैनिक पत्रकार सम्मेलनले चुनावी अभियानमा झट्का लाग्ने बताएका थिए । खासमा पत्रकार सम्मेलनमा ट्रम्पको पत्रकारसँगको सम्बन्ध सधै विवादित हुने गरेको थियो जसका कारण उनको निकै आलोचना हुन्थ्यो । 

ट्रम्पले पत्रकार सम्मेलनको कुनै मतलब नरहेको ट्विटरमा भनेका छन् । यही हप्ता ट्रम्पले पत्रकार सम्मेलनमा कोभिड १९ सङ्क्रमणका बारेमा अप्रमाणित र गलत मेडिकल सल्लाह दिएका थिए । उनले कोरोनाको उपचारको क्रममा घाम र मलेरियाको औषधिको प्रयोग गर्न सल्लाह दिने जस्ता कुरा बताएका थिए । उनको यही बयानमाथि उनको विशेषज्ञ टोलीले निरन्तर रुपमा सफाइ दिइरहनुपरेको छ । 

तर गएको शुक्रबार ट्रम्पले पत्रकार सम्मेलनमा कुनै पनि प्रश्नको जवाफ नदिएर सबैलाई चकित बनाएका थिए । उनी २२ मिनेट बन्द कोठामा बैठकपछि बाहिर निस्किएका थिए । 

ट्रम्पले रोगाणुनाशक इन्जेक्शनको प्रयोग गरेर कोभिड १९ को उपचारमा प्रयोग गर्न सक्ने बताएका थिए । उनको यही बयानलाई लिएर निकै आलोचना भएको थियो र स्वास्थ्य विशेषज्ञहरुले त्यो बयानलाई खारेज गर्दै चेतावनी पनि दिएका थिए । पछि ट्रम्पले आफू आवेगमा आएर त्यस्तो बयान दिएको सफाइ दिएका थिए तर भिडियो हेर्दा त्यस्तो देखिएको थिएन । 

ट्रम्पले ट्विट गरेका छन्, ‘ह्वाइट हाउसको पत्रकार सम्मेलनमा पक्षपाती सञ्चारमाध्यम शत्रुतापूर्ण प्रश्नबाहेक अरु केही सोध्दैनन् र तथ्यपूर्ण रिपोर्टिङ पनि गर्दैनन् । उनीहरुलाई यसबाट रेटिङ मिल्छ र अमेरिकी नागरिकले झुटा समाचारबाहेक अरु केही प्राप्त गर्दैनन् । यस्तो कुरामा समय दिनु पनि बेकार छ ।’

पत्रकार सम्मेलनको माध्यमबाट टास्क फोर्सले देशभरमा कोरोनाको अपडेट दिन्छ तर यो सम्मेलनलाई लिएर अब सबैको ध्यान ट्रम्पको बयानमा केन्द्रित भएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया