कोरोना भाइरस : क्युबाका डाक्टरहरुको अफ्रिकादेखि इटलीसम्म प्रशंसा

 बैशाख १४, २०७७ आइतबार १२:२२:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – क्युबाले शनिबार दक्षिण अफ्रिकामा दुई सय १६ जना स्वास्थ्यकर्मी पठाएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीमा सहयोग गर्न क्युबाले विश्वभर अन्य २० चिकित्सा टोली पठाएको छ । कतिपयले यसलाई समाजवादी एकता भनेका छन् भने केहीले मेडिकल डिप्लोमेसीको नाम दिएका छन् । 

वामपन्थी शासन व्यवस्था रहेको क्युबाले कोरोनाको महामारीविरुद्ध लडिरहेका अफ्रिकी र क्यारेबियन देशमा झण्डै १२ सय स्वास्थ्यकर्मी पठाएको छ । क्युबाले युरोपको सम्पन्न देश इटलीमा पनि आफ्ना स्वास्थ्यकर्मी पठाएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने क्युबाका स्वास्थ्यकर्मीलाई स्वीकार नगर्न आग्रह गरेको छ । 

यद्यपि क्युबाले जुन देशमा आफ्ना स्वास्थ्यकर्मी पठाएको छ, ती देशले उनीहरुको स्वागत गरेका छन् । क्युबामा अहिलेसम्म एक हजार तीन सय ३७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५१ जनाको ज्यान गएको छ । क्युबमा प्रतिव्यक्ति डाक्टरको सङ्ख्या सबैभन्दा धेरै छ । क्युबाको हेल्थकेयर सिस्टमको महामारीबाट बच्न विश्वभरि प्रशंसा गरिन्छ । 

दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्री ज्वेली मखीजले भने, ‘सामुदायिक स्वास्थ्य सेवा क्युबाको सबैभन्दा राम्रो कुरा हो । हामी यो प्रणाली मन पराउँछौँ ।’ 

दक्षिण अफ्रिकामा चार हजार तीन सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८६ जनाको ज्यान गएको छ । दक्षिण अफ्रिकाको क्युबासँग विशेष सम्बन्ध छ । क्युबाका सैनिकले दक्षिणी एङ्गोलामा लडाइ लडेका थिए र नेल्सन मण्डेलालाई जेलमुक्त गराउन सहयोग गरेका थिए । नेल्सन मण्डेलाले रिहा भएपछि फिदेल कास्त्रोलाई धन्यवाद भनेका थिए । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया