कञ्चनपुर : काठमाण्डौबाट घर ल्याउन होडबाजी, सीमापारी रहेकालाई बेवास्ता

 वैशाख १५, २०७७ सोमबार ११:५१:१७ | रासस
unn.prixa.net

कञ्चनपुर - अध्ययन, कामकाज तथा अन्य कारणले काठमाण्डौमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ बस पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदू रलाई स्वदेश ल्याउने विषय अझै किनारा लाग्न सकेको छैन ।

काठमाण्डौबाट कञ्चनपुर, कैलालीलगायतका जिल्लामा जान काठमाण्डौमै रहेर प्रतिनिधिसभा सदस्यदेखि पूर्वमन्त्री, राजनीतिक दलका नेता र विद्यार्थी नेता अग्रसर रहेको देखिएका छन् ।

सामाजिक सञ्जालमा राहत वितरण र उद्धार गरी घर पठाउने विषयले चुनावी झझल्को दिए पनि झण्डै एक महिनादेखि घर आउन नपाएर सीमावर्ती भारतीय बजारका विद्यालयमा आश्रित नेपाली मजदू र घर ल्याउन जनप्रतिनिधिका साथै प्रदेश र स्थानीय सरकार गम्भीर भएको देखिँदैन ।

काठमाण्डौलगायत बाहिरबाट यहाँ आइरहेका नागरिकलाई १४ दिन क्वरेण्टीन राखेपछि मात्रै होम क्वरेण्टीनमा राख्न कञ्चनपुरको स्थानीय प्रशासनले स्थानीय तहलाई सचेत गराए पनि कार्यान्वयन नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्ने चिन्ता रहेको छ ।

‘सीमापारि रहेकालाई यहाँ ल्याएर क्वरेण्टीनको व्यवस्था रहे पनि आफ्ना नागरिकलाई यता ल्याउने विषयमा गम्भीर कोही पनि देखिँदैन’, सुरक्षा निकायका एक प्रमुखले भन्नुभयो, ‘सीमापारि रहेका मजदू रका विषयमा बोल्ने जनप्रतिनिधिसमेत यहाँ देखिएनन् ।’

सर्वोच्च अदालतले समेत लकडाउनका कारण भारतीय सीमा क्षेत्रमा क्वरेण्टीन राखिएका नेपालीलाई घर फर्काउन अन्यथा भारतमै गाँस, बासको प्रबन्ध मिलाउन आदेश जारी गरे पनि सुनुवाइ भएको छैन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलेकाठमाण्डौलगायत कुनै पनि ठाउँबाट मान्छे ओसार्न जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको बताउनुभयो ।

‘बाहिरबाट आउनेको विवरण सङ्कलन र तापक्रम मापन जिल्ला प्रशासनको पहलमा कञ्चनपुरको गजरौला गर्दैछौँ’, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘बाहिरबाट आउनेलाई सम्बन्धित स्थानीय तहले क्वरेण्टीनमा राख्नुपर्छ भनेर हामीले परिपत्रसमेत गरेका छौँ ।’

उहाँले केही स्थानमा क्वरेण्टीन राखिए पनि बाहिरबाट आउने अधिकांश घर फर्किरहेको सुन्नमा आएको बताउनुभयो ।

‘सरकारको नीतिअनुसार जो जहाँ छ त्यही बस्नुपर्ने हो’ सहायक प्रजिअ उपाध्यायले भन्नुभयो, ‘हामीले कहीँबाट पनि जिल्लामा मान्छे भित्र्याऊ भनेर स्वीकृत दिएका छैनौँ ।’काठमाण्डौ लिन गइरहेका बसलाई जिल्ला प्रशासनबाट स्वीकृत नभएको उहाँले बताउनुभयो ।

‘पहिलोपटक आएका ८६ जनाको गजरौलामा नमुना परीक्षणसमेत गर्यौँ’, उहाँले भन्नुभयो, ‘आउनेको क्रम बढेपछि त्यो पनि सम्भव भएन ।’ उहाँले आइतबार साँझसम्म अन्यबाट ३ सय ८६ जना कञ्चनपुर भित्रिएको बताउनुभयो ।

क्वरेण्टीनको व्यवस्थापन स्थानीय तहले गरेको भए पनि मान्छे राख्न गम्भीर नदेखिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामीसित व्यवस्थापनका लागि साधन स्रोत नै उपलब्ध छैन ।’ 

कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा, टनकपुरलगायतका क्षेत्रमा आश्रय लिइरहेका नेपालीलाई स्वदेश ल्याउन स्थानीय प्रशासनले समन्वय गरे पनि ल्याउने विषयमा दुवै देशका सरकारबीच कुरो नमिलेको उहाँले बताउनुभयो ।

‘हामीले केही दिनअघि मात्रै सीमापारि गएर स्थलगत अनुगमनबाट नेपालीको अवस्था बुझ्ने काम गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘नेपालीको स्वास्थ्य अवस्था सामान्य र खान, बस्नको व्यवस्था राम्रो भए पनि उनीहरुले आफ्नै देशको क्वरेण्टीनमा बस्न चाहेका छन् ।’

सीमापारि २ सय ५१ नेपाली रहेको बताउँदै उहाँले त्यहाँबाट ल्याउन सकिए भीमदत्तनगरको बैजनाथ स्कूलको क्वरेण्टीनमा राख्ने गृहकार्य भएको बताउनुभयो ।

सीमापारि रहेकालाई ल्याउने विषयमा स्थानीय प्रशासन केन्द्रको आदेश कुरिरहेको छ । कञ्चनपुरका २७ स्थानमा करिब ६०० भन्दा बढी श्ययाको क्वरेण्टीन स्थापना गरिएका भए पनि हालसम्म छ महिलासहित १ सय ६१ जना मात्रै बसिरहेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याएर क्वरेण्टीनमा राख्ने दायित्व सरकारको भएको बताउनुभयो । ‘यहाँ ल्याएर मात्रै भएन, सबैलाई उचित व्यवस्थापनका साथ क्वरेण्टीन राख्नु पनि प¥यो’, अध्यक्ष मल्लले भन्नुभयो, ‘त्यो विषयमा कोही पनि गम्भीर भएको देखिँदैन ।’ 

त्यसैगरी दुई दिनयता यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा समेत समिति यात्रुबाहक बस सञ्चालन भइरहेका छन् । भीमदत्तनगरका समाजसेवी लीलाध्वज बस्नेतले सीमापारि रहेका नागरिक ल्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

‘चौध दिन भनेको ठाउँमा २५ दिन बस्दा स्वास्थ्य समस्या देखिएन भने सुरक्षा सतर्कता अपनाएर घर फर्काउन गम्भीर हुनुपर्छ’, बस्नतेले भन्नुभयो, ‘नागरिकको मानसिक तनावलाई पनि ख्याल गर्नुपर्छ ।’ कञ्चनपुरको क्वरेण्टीनमा बसेका २९ जना भारतीय मजदूर स्वास्थ्य परीक्षणमा अवस्था सामान्य रहेपछि यहाँको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुलमा ज्यालादारीमा लागेका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया