नेकपाका नेताहरुको अनौपचारिक छलफल, मङ्गलबार सचिवालय बैठक

 वैशाख १५, २०७७ सोमबार १९:११:० | रासस
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका बेला समाधानका लागि शीर्ष नेताका साथै मध्यमार्गी अन्य नेताहरुको पनि सक्रियता देखिएको हो ।

नेताहरुको अनौपचारिक छलफल चलिरहेका बेला मङ्गलबारका लागि पार्टीको स्थायी कमिटी बैठक आह्वान गरिएको छ । सचिवालय बैठकमा सहमति हुन नसकेका विषय स्थायी समिति वा केन्द्रीय कमिटीमा लगिनेछ । समस्या समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच एक्लाएक्लै र समूहगतरुपमा अनौपचारिक छलफल भइरहेको छ । उहाँहरु निकट पूर्व समूहका दोस्रो तहका नेताहरु पनि समाधानका लागि सक्रिय हुनुभएको छ ।

सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको हो ।

असन्तुष्ट नेताहरुले सरकारले पार्टीको समन्वयमा काम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् भने सरकारको नेतृत्वमा रहेका नेताहरुले पार्टीले सरकारलाई सघाउनुपर्नेमा जोड दिएका छन् । आजै अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच दाहाल निवास खुमलटारमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ ।

समस्या समाधानका लागि आज वरिष्ठ नेता नेपाल र अन्य केही नेताहरुबीच काठमाण्डाैमा अनौचारिक छलफल भएको छ । छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले उत्पन्न गतिरोध चाँडै अन्त्य गराउन र पार्टीलाई एक ढिक्का बनाएर जान सुझाव दिइनुका साथै स्थायी कमिटीको बैठक चाँडो राख्न जोड दिइएको बताउनुभयो ।

समाधानका लागि शीर्ष नेताहरुबीच शक्ति बाँडफाँडको तयारी हो ? भन्ने सञ्चारकर्मीकाे  जिज्ञासामा नेता पन्तले भन्नुभयो, 'निकासका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै पहल गर्नुपर्छ । गतिरोध चाँडो अन्त्य हुनुपर्छ ।' 

कतिपय नेताले पार्टी र सरकारका एक व्यक्ति एक पद हुनुपर्ने प्रस्ताव पनि राखेका छन् भने निर्वाचनबाट स्थिरता र विकासका लागि नेकपाले जनादेश लिएकाले एकताबद्ध भइ काम गर्नुको विकल्प नभएको जनाएका छन् । छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पन्त सहभागी हुनुहुन्थ्यो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया