सर्वेन्द्र खनाल, महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध मानव अधिकार आयोगमा उजुरी

 वैशाख १८, २०७७ बिहीबार १५:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको भन्दै तीनै जनाविरुद्ध बिहीबार आयोगको कार्यालय पुगेर उजुरी दिनुभएको हो ।  उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए-नभएको विषयमा अनुसन्धान गरिने बताउनुभयो ।

अपराध भए-नभएको, अपहरण भए-नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ कि छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताउनुभयो । उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उल्लङ्घन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अपराध भयो-भएन्, अपहरण हो-होइन त्यो हेर्ने काम हाम्रो होइन । त्यो प्रहरी र अदालतको काम हो । तर उजुरीमा लेखिए बमोजिमको कार्यहरु भए कि -भएनन् । ती कार्यहरु भएको भए उजुरीकर्ता मानव अधिकार उल्लङ्घन भयो कि-भएन । उल्लङ्घन भएको रहेछ भने त्यसलाई पुर्नस्थापना गर्न के गर्नुपर्छ । राज्यले के गर्नुपर्छ । सरकारले के गर्नुपर्छ भन्ने कुरा हामी बोल्नुपर्छ । त्यो बोल्ने हाम्रो कर्तव्य हो । हामी आफ्नो कर्तव्यप्रति सजग छौँ ।’

डा. यादवले सदस्य वस्ती र मोहना अन्सारीलाई भेटेर उजुरी दिनुभएको हो । शक्तिको आडमा आफ्नो ज्यान नै लिनसक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीलाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

काठमाण्डौबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याउनुभएको थियो । यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया