सरकारले राहतको ठाउँमा ज्यालादारी काम दिने, औपचारिक क्षेत्रका मजदूरले तत्कालको लागि न्यूनतम ५० प्रतिशत तलब पाउने

 वैशाख १८, २०७७ बिहीबार १७:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले अब कोरोनाको कारण रोजगारी गुमाएकाहरुलाई सित्तैमा राहत नदिने भएको छ ।

सरकारले राहत लिनको लागि सरकारी काम गर्नुपर्ने व्यवस्था सहितको कार्यविधि वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि यस्तो व्यवस्था लागूभएको हो ।  

अर्थ मन्त्रालयले बनाएको कार्यविधि अनुसार दैनिक ज्याला मजदूरी गर्ने श्रमिकले आफ्नो काम गुमेको जानकारी र आफु कामको लागि इच्छुक भएको कुरा पालिका थाहा पाउनुपर्नेछ ।

पालिकाले त्यस्ता परिवारको पहिचान गर्ने रोजगार केन्द्रमा उनीहरुको नाम सुचिकृत गर्नेछ  । पालिकाहरुले नै ज्याला निर्धारण गर्नेछन् । श्रमिकहरुलाई पालिका, प्रदेश या संघीय सरकारका काममा लगाइने र उनीहरुलाई ज्याला दिइने कार्यविधिमा उल्लेख छ । यसो गर्दा श्रमिकले पैसा पनि पाउने र केही काम पनि हुने सरकारले जनाएको छ ।

काम नगर्नेहरुले भने काम गर्ने मजदूरले पाउने ज्यालाको २५ प्रतिशत रकम बराबरको मात्रै राहत दिइने कार्यविधिमा उल्लेख छ । 

यसरी ज्यालामा लगाएर दिइने रकम प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना र कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट समेत प्रयोग गर्न सकिनेछ  । 

परिवारको कुनै पनि सदस्य स्वरोजगारमा नभएको, औपचारिक क्षेत्रमा संलग्न नभएको अन्य आय आर्जन नभएको परिवारले मात्रै काम र राहत पाउनेछन्, गलत घोषणा गरी काम र राहत लिएको पाइएमा फिर्ता गर्न लगाइने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि अनुसार गैर सरकारी संस्थाले पनि अब पालिकाहरुसँग समन्वय गरेर उनीहरुको अनुमति र तोकिएको क्षेत्रमा मात्रै राहत दिन पाउनेछन् । 

औपचारिक क्षेत्रका मजदूरले वैशाख महिनाको तलब न्यूनतम ५० प्रतिशत पाउनुपर्ने

कोरोनाको प्रभाव परे पनि औपचारिक क्षेत्रका मजदूरले वैशाख महिनाको तलवको न्यूनतम ५० प्रतिशत रकम पाउनैपर्ने सरकारले जनाएको छ । बाँकी ५० प्रतिशत तलब व्यवसाय सञ्चालन भएपछि पाउनेछन् ।

श्रमिकलाई तलब खुवाउन बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा औपचारिक क्षेत्रलाई कर्जा दिने र त्यसको पुन:कर्जा उपलब्ध  हुनेछ । ठूला उद्योग प्रतिष्ठानले बैंकबाट सरल धितो राखेर कर्जा पाउन सक्नेछन् ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया