धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको...
मंसिर ११, २०८१ मंगलबार
सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस) का बिरामी बढेका छन् । पहिलेकाे सल्यान गाविसको वडा नम्बर १ र ३ का ४० बढीमा यो रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिनुभयो ।
वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै परिवारका चार जनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभइ आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट यकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।
‘पहिलेकाे वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ’, अध्यक्ष बाँस्तोलाले भन्नुभयो, ‘हिजोमात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको सङ्ख्या बढिरहेको पाइयो ।’
एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्याशित रुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।यो टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले नै बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ ।
त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीन वटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ । तीन वटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।
‘दैनिक रुपमा तीनदेखि चार जनामा जन्डिस देखापरेको छ’, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा. अविषेक सुमनले भन्नुभयो, ‘अहिलेसम्म बिरामीको सङ्ख्या बढेर ४० जनाभन्दा बढी पुगिसकेको छ ।’
डा. सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहे पनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ ।
मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामना गरिरहेकोे कोभिड-१९ को जोखिमसँग अन्य रोगसमेत बढ्न सक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा. अविषेक सुमनको भनाइ छ ।
कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।